कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि

करन जङ रायमाझी
काठमाडौँ (अर्घाखाँचीडट्कम) । पूर्वमन्त्री एवं   नेपाली कांग्रेसका नेता  नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ। शनिबार साँझ पशुपति आर्यघाटमा जोशीको अन्तिम संस्कार गरिएको हो।
फागुन १४ गते मस्तिष्कघात भएपछि नर्भिक हस्पिटलमा भर्ना गरिएका जोशीको उपचारको क्रममा शुक्रबार बेलुका निधन भएको थियो।
जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि दिउँसो नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो।
कांग्रेसले नेता जोशीको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
शनिबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
यस्तै १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि बैठकले गरेको थियो।
विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मेका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं. ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।