अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा(एमाले) माधव खनाल समुहले जिल्लाभरका सबै पालिका-वार्डमा समानान्तर कमिटी बनाउने भएको छ ।
निष्काशनमा परेका बाँयाबाट दुमनसिंह थापा, राम बहादुर चौहान र सिद्दी प्रसाद भुसाल
ओली पक्षले माधव खनाल समुहका ३ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेपछि उक्त निर्णयको भर्त्सना गर्दै जिल्लाभरका सबै पालिका-वार्डमा समानान्तर कमिटी बनाउने भएको हो ।
केन्द्रमा एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी सदस्यको बैठकले मंगलवार देशभरका सबै तहमा समानान्तर कमिटी बनाउने निर्यण गरेअनुसार सबै ६ पालिका र वार्डमा पनि कमिटी बनाउन थालिने जिल्लाका नेताहरुले बताए ।
चेत नारायण आचार्यले गरेको तथाकथित निष्काशनले पार्टीमा झन विभाजित भएको, जिल्ला नै अन्यौल बनाएको र विधान विपरित जिल्ला कमिटी, जनवर्गीय संगठन विस्तार गरेकाले आफूहरू पनि जिल्लाभरमा समानान्तर कमिटी बनाउने तयारी गरेको समानान्तर जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, दुमनसिंह थापा र सिद्दी प्रसाद भुसालले बताएका छन् । २०७५ जेठ २ को अवस्था अनुसार ‘अब हामी सबै वार्ड तहसम्मै कमिटी बनाउँछौ। विगतका पालिका कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन्।’ उनिहरुले बताए ।
उता हिजो सोमबार ओली पक्षले सोमबार निस्काशनमा परेका समानान्तर जिल्ला कमिटी अध्यक्ष चौहानले सामाजिक संजालमा चेत नारायण आचार्यको तथाकथित र बकम्फुसे कारवाहीबाट केही पनि थिरिक्क नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । चौहानले लेखेका थिए; विधान विपरित हामी माथि गरिएको तथाकथित र बकम्फुसे कारवाहीको कुनै मतलब छैन् । कोही थिरिक्क हुने वाला पनि छैनौ, ने केन्द्रमा माधव कमरेड, भिम कमरेड थिरिक्क हुनुहुन्छ। न जिल्लाका चौहान, थापा, भुसाल कमरेड थिरिक्क हुनेवाला छन् । ओली र चेतन जिको बकम्फुसे कारवाही गोडामा पिसाब फेरी न्यानो सिवाय अरु केही हुन सक्दैन् । यस्ता ताई न तुईका अफवाह देखि कोही तर्सने वाला छैन् । काग कराउदै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ती हिन्दै गर्छ।”
पार्टी अध्यक्ष चेत नारायण आचार्यले सोमबार बसेको बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै चौहान, थापा र भुसाललाई पार्टी विधानको धारा ४९ (ख) अनुसार सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको उल्लेख गरेका थिए । यस्तै विज्ञप्ती भनिएको थियो; ‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तीहरुलाई पार्टी विधान अनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’
साथै अन्य आधा दर्जन नेताहरुलाई स्पष्टीकरण सोध्ने बैठकले निर्यण गरेको उक्त प्रेस विज्ञप्ती उल्लेख थियो ।
२०७५ जेठ २ सम्म रहेको जिल्ला कमिटी
स्पष्टीकरणका लागि केही दिन पर्खने
ओली पक्षका एक नेताले डट्कमलाई जानकारी गराए अनुसार; पिताम्बर भुसाल, प्रेम नारायण गैरे, कूलदीप भूसाल, भविश्वर पाण्डे, सरोज भुसाल लगायत आधा दर्जन बढीलाई स्पष्टीकरण पत्र थमाउने तयारी भएपनि केही दिन पर्खने कि भन्नेमा छलफल भएको छ ।
यस्तै ओली पक्षले गरेको जिल्ला कमिटी र जनवर्गीय संगठन विस्तारलाई माधव नेपाल समुहले मान्य नहुने र २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्ने बताउदै आएको छ । तर फाल्गुन २५ गते मंगलवार पार्टी, चैत्र ६ गते शुक्रवार जनवर्गिय संगठनहरुको जिम्मेवारीमा हेरफेर निर्णयबाट पछाडि फर्किन नसक्ने अध्यक्ष चेतनारायण आचार्यले बताएका छन् । उनले बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने पनि बताएका छन् । जिल्ला कमिटी अध्यक्ष आचार्यले जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विघान) रहेको बताउदै आएका छन् ।