काठमाडौं (अर्घाखाँचीडट्कम) । नेकपा एमाले जनवर्गीय संगठनको प्रमुखमा टोपबहादुर रायमाझी चयन भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन-९ अनुसार नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी एमाले जनवर्गीय संगठनको प्रमुखमा चयन भएका हुन् ।
गत फागुन २८ गते र चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न प्रधानमन्त्री ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन २० पृष्ठको रहेको छ।
अन्तरपार्टी निर्देशनमा तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने र सबैलाई सम्मानपूर्वक काम दिइने भनिएको छ। यस्तै, पार्टी विचारमा आधारित संस्था भएकोले कसैप्रति पनि पूर्वाग्रह नराखिने सो अन्तरपार्टी निर्देशनमा लेखिएको छ।