काकडभिट्टामा नेपाल फर्कनेलाई स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश

सुरेन्द्र भण्डारी इमेज च्यानल
झापा । भारतमा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि अहिले नेपाल फर्कनेको पनि घुईचो बढ्न थालेको छ । भारतमा रोजगारी गर्न गएकाहरु धमाधम फर्कन थालेपछि झापा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सीमा नाकामा कडाई गरेको हो ।
काँकडभिट्टा नाका हुदै भारत पुगेर नेपाल फर्कने र भारततर्फ जाने सर्वसाधारणको आवतजावत केहि दिन अघि बढे पनि अहिले आएर कडाई गरीएको छ । दैनिक झण्डै २ हजार सर्वसाधारण आवतजावत गर्ने काँकडभिट्टा नाकामै स्वास्थ्य परीक्षणका लागि ज्वरो नाप्ने, मास्क लगाए वा नलगाएको जाच गर्ने लगायतका स्वास्थ्य मापदण्डका बिधि अपनाउन थालिएको छ । उनीहरुबाट संक्रमण भित्रिने खतरा रहेकोले सीमा नाकामा कडाई गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
झापाका अन्य नाका बर्षदिन देखि ठप्प भएपनि काँकडभिट्टा नाका केही समय अघिबाट आवतजावतलाई सहज बनाइएको थियो । सीमामा तैनाथ सुरक्षाकर्मीले नाकामा पुनः सर्वसाधारणहरुको विवरण संकलन गर्न थालेका छन् । मास्क नलगाई लाइनमा आएकालाई प्रहरीले नाकाबाटै फर्काउन र सम्झाउन समेत थालेका छन् । कोरोना रोकथामका लागि प्रशासनले अझै कडाई गर्नुपर्ने सर्वसाधरणको भनाई छ ।
यसअघि कोरोना संक्रमणलाई मध्यनजर गरी काँकडभिट्टामा भारतबाट आउने सर्वसाधारणका लागि होल्डिङ सेन्टर स्थापना गरिएको थियो । तर, अहिले त्यो हटाइएको छ । स्थानीय तहले बनाएका क्वारेन्टाइन सबै बन्द छन् । जसले गर्दा भारतबाट आएकाहरु घरमै जाने गरेकाछन् । यसले गर्दा संक्रमण फैलने सम्भावना झनै बढेको छ । प्रशासनले मास्क लगाउन अनिर्वाय र सेनिटाइजर बोकेर मात्र हिँड्न नागरिकलाई आवहन गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
कोरोना महामारी सुरु हुँदा गत वर्ष सीमा नाकामा अस्थायी प्रहरी पोष्ट स्थापना गरी कडाई गरिएको थियो । तर, अहिले सबै अस्थायी पोष्ट हटाउनुका साथै सीमामा तैनाथ सुरक्षाकर्मी आआफ्नो कार्यस्थलतर्फ फर्किसकेका छन् । सीमावर्ती भारतीय नागरिक नेपालतिर आएर खेती गर्न सुरु गरेका छन् भने मुख्य नाकाबाहेकका खुला सीमाबाट अहिले पनि सहजै रुपमा आवतजावत हुँदा समस्या झन जटिल हुने देखिन्छ ।