अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा(एमाले) माधव खनाल समुहले ओली पक्षका अध्यक्ष चेत नारायण आचार्यलाई सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने भएको छ ।
आफ्ना पक्षका ३ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेपछि उक्त निर्णयको भर्त्सना गर्दै आएका समानान्तर जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले बुधवार अध्यक्ष चेत नारायण आचार्यमाथि गम्भिर आरोप सहित २४ घण्टाको स्पष्टिकरण माग्दै चित्त बुझ्दो जवाफ नआए सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने चेतावनी दिएका हुन् ।
चौहानले ६ वटा प्रश्न सोधेको स्पष्टिकरण पत्र बुधवार दिउँसो नै आचार्यलाई थमाइएको बताइएको छ । स्पष्टिकरण पत्रमा उल्लेख भए अनुसार चौहानले पनि पार्टी विधानको धारा ४९ (ख) अनुसार सदस्यता समेत नरहने गरी आचार्यलाई पार्टीबाट निष्काशन गर्ने भएका छन् । आचार्यले स्पष्टिकरण पत्रको बिहीवार दिउसोसम्म जवाफ दिनुपर्ने हुन्छ ।
उता ओली पक्षका एक जिल्ला नेताले डट्कमलाई बताए अनुसार; चौहानले पठाएको २४ घण्टाको स्पष्टिकरण पत्रको आचार्यले कुनै जवाफ नदिने भएका छन् । चौहानले लेखेको पत्रमा कुनै सत्यता नभएको हावादारी आरोप भएको उनले बताए ।
चौहानले आचार्यलाई २४ घण्टाको स्पष्टिकरण माग्दै गम्भिर लामो आरोप लगाएका छन् । उनले आचार्यमाथि २०६४ सालको निर्वाचन, २०७० सालको दोस्रो सविधान सभाको निर्वाचन, स्थानिय निर्वाचनमा पार्टीलाई ठुलो चलखेल, घात गरेको- विपक्षलाई जिताएको, व्यक्तिगत र पारिवारिक राजनीतिकमा मात्रा केन्दित रहेको लगायत दर्जनौ गम्भिर दोष लगाएर स्पष्टिकरण मागेका छन् ।
साथै पार्टी सदस्य नभएका तोज बहादुर रायमाझीलाई कसरी जिल्ला कमिटी सचिव बनाएको, विगतमा पार्टीबाट राजिनामा दिएर २ वर्षसम्म पार्टीलाई अनियर्णको बन्दी गराएको, ३ वटा भन्दा बढी बैठकमा अनुपस्थिती भई पद मुक्त हुनुपर्ने होइेन भनी स्पष्टिकरण मागेका छन् ।
चौहानले आचार्यलाई पठाएको पत्र ।
ओली पक्षले सोमबार समानान्तर जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, पार्टी संगठन सदस्य दुमनसिंह थापा र सिद्दी प्रसाद भुसाललाई सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । पार्टी अध्यक्ष चेत नारायण आचार्यले सोमबार बसेको बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै चौहान, थापा र भुसाललाई पार्टी विधानको धारा ४९ (ख) अनुसार सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको उल्लेख गरेका थिए ।
यो स्पेस विज्ञापनको लागि खाली छ–
उता जिल्लामा नेकपा(एमाले) माधव खनाल समुहले जिल्लाभरका सबै पालिका-वार्डमा समानान्तर कमिटी बनाउने भएको छ ।
ओली पक्षले माधव खनाल समुहका ३ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेपछि उक्त निर्णयको भर्त्सना गर्दै जिल्लाभरका सबै पालिका-वार्डमा समानान्तर कमिटी बनाउने भएको हो ।
केन्द्रमा एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी सदस्यको बैठकले मंगलवार देशभरका सबै तहमा समानान्तर कमिटी बनाउने निर्यण गरेअनुसार सबै ६ पालिका र वार्डमा पनि कमिटी बनाउन थालिने जिल्लाका नेताहरुले बताए ।
चेत नारायण आचार्यले गरेको तथाकथित निष्काशनले पार्टीमा झन विभाजित भएको, जिल्ला नै अन्यौल बनाएको र विधान विपरित जिल्ला कमिटी, जनवर्गीय संगठन विस्तार गरेकाले आफूहरू पनि जिल्लाभरमा समानान्तर कमिटी बनाउने तयारी गरेको समानान्तर जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, दुमनसिंह थापा र सिद्दी प्रसाद भुसालले बताएका छन् । २०७५ जेठ २ को अवस्था अनुसार ‘अब हामी सबै वार्ड तहसम्मै कमिटी बनाउँछौ। विगतका पालिका कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन्।’ उनिहरुले बताए ।
उता ओली पक्षले सोमबार निस्काशनमा परेका समानान्तर जिल्ला कमिटी अध्यक्ष चौहानले सामाजिक संजालमा चेत नारायण आचार्यको तथाकथित र बकम्फुसे कारवाहीबाट केही पनि थिरिक्क नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । चौहानले लेखेका थिए; विधान विपरित हामी माथि गरिएको तथाकथित र बकम्फुसे कारवाहीको कुनै मतलब छैन् । कोही थिरिक्क हुने वाला पनि छैनौ, ने केन्द्रमा माधव कमरेड, भिम कमरेड थिरिक्क हुनुहुन्छ। न जिल्लाका चौहान, थापा, भुसाल कमरेड थिरिक्क हुनेवाला छन् । ओली र चेतन जिको बकम्फुसे कारवाही गोडामा पिसाब फेरी न्यानो सिवाय अरु केही हुन सक्दैन् । यस्ता ताई न तुईका अफवाह देखि कोही तर्सने वाला छैन् । काग कराउदै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ती हिन्दै गर्छ।”
पार्टी अध्यक्ष चेत नारायण आचार्यले सोमबार बसेको बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै चौहान, थापा र भुसाललाई पार्टी विधानको धारा ४९ (ख) अनुसार सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको उल्लेख गरेका थिए । यस्तै विज्ञप्ती भनिएको थियो; ‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तीहरुलाई पार्टी विधान अनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’
साथै अन्य आधा दर्जन नेताहरुलाई स्पष्टीकरण सोध्ने बैठकले निर्यण गरेको उक्त प्रेस विज्ञप्ती उल्लेख थियो ।
यस्तै ओली पक्षले गरेको जिल्ला कमिटी र जनवर्गीय संगठन विस्तारलाई माधव नेपाल समुहले मान्य नहुने र २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्ने बताउदै आएको छ । तर फाल्गुन २५ गते मंगलवार पार्टी, चैत्र ६ गते शुक्रवार जनवर्गिय संगठनहरुको जिम्मेवारीमा हेरफेर निर्णयबाट पछाडि फर्किन नसक्ने अध्यक्ष चेतनारायण आचार्यले बताएका छन् । उनले बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने पनि बताएका छन् । जिल्ला कमिटी अध्यक्ष आचार्यले जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विघान) रहेको बताउदै आएका छन् ।