मालारानी गाउँपालिकाको बृहत् याेजना तर्जुमा तथा दीर्घकालीन साेच तयारी कार्यशाला गाेष्टी सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
बर्दिया  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको आयोजनामा बृहत् याेजना तर्जुमा  तथा  दीर्घकालीन साेच तयारी  कार्यशाला गाेष्टी बर्दियाको ठाकुरबाबामा सम्पन्न भएको छ ।
 
बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीको उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको थियो ।
गोष्ठीमा रायमाझीले आबधिक विकास निमार्ण योजनामा उल्लेख भएका विकास निमार्णका कामहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्दै तयार पारेको आवधिक विकास निर्माण योजना कार्यान्वयनको समय ५ वर्र्षमा अर्घाखाँचीका सडक कालोपत्रे हुने बताउनुभयो ।
अध्यक्ष बालकृष्ण शर्मा आचार्यले मालारानी गाउँपालिकाको प्रथम आबधिक बिकास योजना २०७८/०७९ देखि २०८२/८३ को बारेमा जानकारी दिनु भएको थियो । यस्तै उपाध्यक्ष प्रमिला क्षेत्रीले बर्दियाको अबलोकन सँगै गरिएको गोष्ठी प्रभावकारी हुने र महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी महिला लक्षित तालिम सञ्चालन गर्ने गरेको बताउनुभयो । यस्तै कार्यशाला गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा. ईश्वर गौतमले विकासका लागी आवधिक योजना अनिवार्य रहेको बताउनुभयो ।
कार्यशाला गोष्ठीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राडा. गोविन्दराज पोख्रेलले गाउँपालिकाको मुहार फेर्ने माध्यम आवधिक विकास योजना बन्ने बताउनुभयो । स्थानिय सरकारसँग प्रशस्त बजेट नभएमा प्रदेश र संघमा बजेट माग गर्ने माध्यम आवधिक विकास योजना बन्ने बताउनुभयो । साथै गोष्ठीमा लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली, इन्द्रमणि पौडेल, गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेलले मालारानी गाउँपालिकाले आगामी ५ वर्षमा गर्ने कामको योजनाको बारेमा जानकारी गराए ।
कार्यशाला गोष्ठीमा गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत, कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।