छत्रगञ्जमा एमाले निकट राष्ट्रिय युवासंघको छत्रदेब गाउँपालिका कमिटिको भेला सम्पन्न

गणेश खनाल  
छत्रगञ्ज, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रगञ्जमा नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल छत्रदेब गाउँपालिका  कमिटिको भेला सम्पन्न भएको छ । 
भेलामा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले अराजकता र अस्थिरताबादीहरूका कारण मुलुकमा नयाँ राजनीतिक परिवेश उत्पन्न भएकाे बताउनु भएकाे छ ।
खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भुमि समेटिएको नक्शा जारी गरे सँगै सरकार र पार्टीको बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउनुभयो । राष्ट्रिय सभा सदस्य समेत रहनुभएका नेता खड्काले भारतीय डिजाइनमा नेकपा बिभाजन गरिएको बताउनुभएकाे हाे ।
उहाँले राष्ट्रिय स्वाधीनता, बिकास र समृद्धिको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नु भएको प्रभावकारी कदमबाट अताल्लिएर प्रतिक्रियावादी शक्तिहरुले पार्टी र सरकारलाई घेराबन्दी गरेको आरोप लगाउनुभयो ।
भेलाले २४५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल छत्रदेब गाउपालिका कमिटिकाे गठन गरेकाे छ । कार्यक्रममा क्षेत्र नं २ निर्वाचन कमिटिका अध्यक्ष प्रकाश ज्ञवाली, युवा संघका केन्द्रीय सचिव गाेबिन्द भुसाल, युवा संघ फ्याक्सन इन्चार्ज खुबिराम आचार्य, नेकपा एमाले छत्रदेब गाउपालिका कमिटि अध्यक्ष रामजी पाण्डे, मालारानी गाउपालिका कमिटि अध्यक्ष शालिकराम अाचार्य, क्षेत्रीय कमिटि सचिव धुर्व पाण्डे लगायतले मन्तब्य राख्दै राष्ट्रियताकाे रक्षाका लागि नेकपा एमालेले लिएकाे बिचार र सिद्धान्तलाई आत्मसाथ गर्नु पर्नेमा जाेड दिनुभएकाे थियाे ।
कार्यक्रम युवा संघका केन्द्रिय सचिवालय सदस्य तथा छत्रदेब युवा संघ संयाेजक भिष्मकुमार भुसालकाे अध्यक्षता र युवा संघका केन्द्रिय सचिवालय सदस्य शाेभाखर पाण्डेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु