अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा आगलागीबाट भएको क्षतिप्रति उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले दुःख व्यक्त गर्नुभएको छ ।
मन्त्री रायमाझीले आगलागी पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताउनुभएको छ । उहाँले गर्मीयाममा आगलागीको जोखिम बढ्ने हुँदा सचेत रहन समेत सबैमा आग्रह गर्नु भएको छ ।
आगलागीबाट शनिबार छत्रदेव ४ धरम्पानीमा १ घर, ३ गोठ जलेका छन् । आगलागीबाट नारायण मगरको घर र गोठ, गोपाल पाण्डेको गोठ र दुइ बाख्रा, दिलबहादुर भण्डारीको गोठ र एउटा भैंसी जलेको छ ।
यस्तै भुमिकास्थान ८ नुवाकोटमा मदनलाल पौडेल र छबिलाल पौडेलको एक/एक गोठ जलेको छ । यस्तै शनिबार नै सितगंगा २ झिर्रामा पवित्रा भाट क्षेत्रीको गोठ र एक बाख्रा जलेको छ ।
चैत्र १० गते सितगंगा नगरपालिका पिरापानीमा ओमबहादुर रानाको २ कोठे बाख्राको खोर जलेको छ । चैत्र ७ गते मालारानी गाउँपालिका ५ मा खिमबहादुर चुँदालीको घर गोठ, ४ बाख्रा र ३ भैंसी जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।