अर्घाखाँचीमा पनि फेरि वायु प्रदूषण, घरबाहिर खुल्ला स्थानमा नबस्न अपिल (फोटो सहित)


केशब राज ज्ञवाली  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पनि बढ्दो वायु प्रदुषणका कारण  अबस्था जटिल बन्दै गएको देखिएको छ । जताततै तुवाँलो र धुलो धुवाँले जनजिबन अस्तब्यस्त हुँदै गैरहेको देखिएको छ  । जिल्लाका विभिन्न भागमा भएका आगलागी र धुलाम्य  कच्ची सडक  हरुनै अर्घाखाँची र विशेष गरि सदरमुकाम सन्धिखर्कको अबस्था जटिल देखिएको छ ।
बिगत केहिदिन येता अर्घाखाँचीमा दिनहु जसो सानाठुला आगलागिका खबरहरु आइरहेका छन तर आज सम्म आगलागीको ठोस कारण सम्बन्धित निकायले पत्ता लगाउन सकेको छैन । आगलागीको धुवाँ अनि कच्ची सडकको धुलोले अर्घाखाँचीको आकास ढाकिएको छ । 
बिग्रदो वाताबरणिय अबस्था र लामो खडेरिका कारण पनि अर्घाखाँचीका स्थानिय चिन्तित छन । चैत्र महिनाको समयमा तुवाँलो लागेको आफ्नो जिवनमा पहिलो पटक देखेको सन्धिखर्क दुई का स्थानिय डम्बरबहादुर ले बताए । यस्तै अर्कि स्थानिय महिला लिलाकुमारिले कार्तिक महिना देखि पानी नपरेकोले खेती हुन नसकेको गुनासो गरिन ।
दिउसोको समयमा सन्धिखर्क – चुत्राबेसी बजार धुवाँ र तुवाँलोले धपक्कै ढाकेको देखिएको छ । हेर्नुस  चैत्र २३ २०७७ दिउँसो १२:४१ मा सन्धिखर्क आसपासको तस्बिर ।
अर्घाखाँचीमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढेको बताइएको छ । बढ्दो वायु प्रदुषणका कारण घाँटी , फोक्सो , आंखा , नाक  तथा छालामा गम्भीर असर पर्ने बिज्ञहरुको भनाई छ ।
उता वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं फेरि संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ । साथै विज्ञहरूले यस्तो समयमा सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाएका छन् ।
यसअघिको वायु प्रदूषण केही दिनअघिको वर्षातले केही सफा भए पनि आइतबारदेखि बढेको प्रदूषण सोमबार झनै उकालो लागेको हो । एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहन पुगेको हो ।
यद्यपि, नेपालमा सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढी (एक्युआई–४२९), चितवनको भरतपुर (एक्युआई ३९८) र ललितपुरको भैंसेपाटी (एक्युआई ३२५) रह्यो । एक्वुआई ५० भन्दा माथि हुनु भनेको क्रमशः नराम्रोको मात्रा बढ्दै जाने हो । 
यस्तै सरकारले वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले घरबाहिर खुल्ला स्थानमा नबस्न अपिल गरेको छ ।