अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नयाँ वर्ष विक्रम संवत् २०७८ सालको भव्य स्वागत गरिदैछ ।
जिल्लामा नयाँ वर्षको स्वागतका लागि कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन् । तर युवा-युवती, केटाकेटी लगयत सबै उमेरका जिल्लाबासीले बजार-बजारमा, टोल- टोल, गाउँका चोक-चोकमा जमघट भएर नयाँ वर्ष २०७८ को स्वागतको तयारी गरेका छन् ।
नयाँ वर्ष २०७८ साल औपचारिक रुपमा प्रारम्भ हुँदै छ । २०७७ साललाई विदाई गरिएपछि राती १२ बजेबाट नयाँ वर्ष २०७८ को प्रारम्भ हुँदैछ । नयाँ वर्षको औपचारिक सुरुवातको पुर्व सन्ध्यामा मुलुकभरका मानिसहरुले आ-आफ्नो देशमा हर्षोल्लासपूर्वक बिभिन्न मनोरञ् जनात्मक कार्यक्रम गरी यसको भव्य स्वागत गर्दै छन्। अहिले नेपालको राजधानी काठमाडौं लगायत देशभरका प्रमुख शहरमा रातभर बिभिन्न कार्यक्रम गरिएका छन् ।
नयाँ वर्ष २०७८ साल भोलीबाट शुरु हुँदै छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । यो नै विक्रम सम्वत्को पहिलो दिन हो ।
आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति र वर्षको जेठो दिन पनि हो ।
प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।
नयाँ वर्षको बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो ।
नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।
विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम विक्रम सम्वत् शास्त्रीय सम्वत भएको बताउँछन् ।
सौरमान र चान्द्रमान दुबैलाई समन्वय गरेर बनाइएको सम्वत नै विक्रम सम्वत हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।