ठाडाकी स्तन क्यान्सर पीडित एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाकी एक बृद्ध महिलाको कोरोना संक्रमणका कारण आज उपचारका क्रममा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।
स्तन क्यान्सरले समेत ग्रसित ठाडाकी ७० वर्षीया बृद्ध महिला बुटवलको कोरोना विशेष अस्थायी अस्पताल भर्ना भएकोमा  शुक्रबार बिहान ८:४० बजे मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भई चैत २९ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।   
आइसियुमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । 
अर्घाखाँची जिल्लामा  कोरोनाका कारण १६ जनाको निधन भएको छ ।
उता अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो । जिल्लामा पुन: कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।