अर्घाखाँचीमा भोलीदेखि अन्तिम कोरोना खोप लगाईदै | जिल्लामा एक दर्जन संक्रमित


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोलीबाट दोस्रो अर्थात अन्तिम कोरोना खोप लगाईने भएको छ ।    
माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि भोली वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिनको लागि जिल्लाभर तयारी पुरा भएको हो । जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरु,  सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिईसकेको छ ।   
जिल्लामा स्वास्थ्यकर्मी,  सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई दोस्रो अर्थात अन्तिम कोरोना खोप लगाई सकेका छन् ।  
जिल्लाभर १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म र फागुन २३ गतेदेखि चैत ३ गतेसम्म जिल्लाभरका ६ पालिकामा १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । स्वास्थ्यकर्मी बाहेक माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई जानकारी दिए । 
 दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने बारेमा पछि जानकारी गराइनेछ ।   
अर्घाखाँची जिल्लामा एक दर्जन संक्रमित
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या १३ जना रहेको छ । भने  जिल्लाका शितगंगा,  मालारानी कोरोना मुक्त भएका छन् । 
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८१७  जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८६ जना, शितगंगा नगरपालिकामा ११०,      भूमिकास्थान नगरपालिकामा १४१,    मालारानीमा ९१,      पाणिनी गाउँपालिकामा ३४,    र छत्रदेव गाउँपालिकामा ५५  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट  ७८८   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७६  जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२,    मालारानीमा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १७ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो ।