अर्घाखाँचीमा बाँदरबाट खेती जोगाउन नसक्दा किसानहरु खेतबारी बाँझो छाड्न बाध्य


अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बाँदरबाट खेती जोगाउन नसक्दा किसानहरुले खेतबारी बाँझो छाड्न बाध्य हुन थालेका छन् ।  
जिल्लाका विभिन्न क्षेत्रमा केही वर्षअघिसम्म फाँटैभरि गहुँ र तोरीले लटरम्म हुने खेतबारी बाँदर आतंकका कारण यतिबेला किसानहरुले छाड्न बाध्य भएका हुन् ।
सन्धिखर्क नगरपालिकामा, शितगंगा नगरपालिका,     भूमिकास्थान नगरपालिका,   मालारानी गाउँपालिका,     पाणिनी गाउँपालिका   र छत्रदेव गाउँपालिकाका विभिन्न क्षेत्रमा केही वर्षअघिसम्म हिउँदे बाली लहलह झुल्ने फाँटैभरि यतिबेला किसानले लगाउन चाहेर पनि बाँदरबाट जोगाउन नसकेकै कारण बाँझो छाड्न बाध्य भएका छन् । यहाँका किसानहरुले बाँदरकै कारण हिउँदे खेती लगाउन छाडेका छन् । 
हिउँदमा लगाइने तोरीबाहेकका सबैजसो बाली फल लाग्ने समयमा बाँदरले सखाप पार्न थालेपछि उनीहरूले खेती गर्नै छाडेका हुन् । केही किसानले बाँदरबाट जोगाउन सकिने आशामा खेती लगाए पनि खेती भित्र्याउने बेला बाँदरले सखाप पारेपछि निराश छन् ।
पहेंलिएका गहुँ बाँदरले सोत्तर पारिदिएपछि किसानहरु हैरान परेका छन् । पछिल्लो पाँच, छ वर्षयता जिल्लाभर बाँदर आतंक बढ्दो छ । कतिपय गाउँमा बाँदर घरभित्रै पसेर पकाएको खानासमेत लिएर भाग्ने गुनासो स्थानीयको छ । बाँदरकै कारण हिउँदे खेतीबाटै जीविकोपार्जन गर्नेले समेत खेती लगाउन छाडेका छन् । 
बाँदर आतंक बढेपछि नियन्त्रण गर्न भन्दै जिल्लाका केही पालिकाले नियन्त्रण अभियान सञ्चालन गरेका थिए । तर सफल हुन नसकेपछि  ति पालिकाले हात झिकेका छन् ।