अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको साम्नेगाउँका एक युवाको कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको छ।
अर्घाखाँचीडट्कमका संवाददाता माधव खनालले पठाएको समाचार अनुसार ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको हो ।
करिब २५ वर्षदेखि दिल्लीको साहादरामा नोकरी गर्दै आउनुभएका खनाल करिब ४५ दिन पहिला छुट्टिमा आई दिल्ली जानुभएको थियो । खनालका बाबुआमा २ भाइ २ बहिनी श्रीमती १ छोरा र १ छोरी हुनुहुन्छ उहाँको बुधबार ३ बजे दिल्लीमा हिन्दु सस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
योसँगै भारतमा गत चैत्र ३१ गते यता ९ दिनको अवधीमा ४ जनाको मृत्यु भएको छ । यस्तै आज बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको बुधवार दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा अचानक निधन भएको छ ।
रामप्रसाद बन्जाडे तथा दिल्लीमा रहने नेपालीहरुले डट्कमलाई दिएको जानकारी अनुसार बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको बुधवार दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा अचानक निधन भएको हो ।
खड्काको निधनको कारण खुल्न सकेको छैन् । तर हृदयघातका कारण निधन हुन सक्ने स्थानिय नेपालीहरुले बताएको छन् । खड्काले नेशनल लाइव वेव टेलिभिजनका समाचार वाचक समेत रहेको बताइएको छ ।
केही वर्षदेखि दिल्लीमा रहेका अविवाहित खड्काका बुवा झण्डै १५ बर्ष पहिला ठाडा अमराईमा भएको बस दुर्घटना निधन भएको थियो ।
उता यस अगाडि कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको गुडगाउँमा मृत्यु भएको थियो । यस्तै हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।