अर्घाखाँचीमा खनाल-नेपाल एमालेले कम्युनिष्ट पार्टीको ७२ औ स्थापना दिवस मनायो


नविन रसाईली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा खनाल-नेपाल नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टीको ७२ औ स्थापना दिवस  एवं लेनिन जयन्तीको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।    
नेपाल कम्युनिष्ट पार्टीको ७२ औ स्थापना दिवस  एवं लेनिन जयन्तीको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानले कम्युनिष्ट आन्दोलन भित्र देखा परिरहेको स्वेच्छाचारीता र अराजकताको अन्त्य गर्दै विधि, पद्धति, विधान र मुल्य मान्यताको आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्दै अनुशासित, एकताबद्ध, सुदृढ र जनव्यापी पार्टीको माध्यमबाट समाजवादको दिशामा दृढतापुर्वक अघि बढ्न सबैसँग आग्रह गर्नुभएको छ ।   
चौहानले–२२ अप्रैल १९४९ अर्थात् ठिक आजैको दिन पुष्पलालको अगुवाईमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न टुटफुट तथा आरोह अवरोह पार गर्दै जननेता मदन भण्डारी द्धारा बैचारिक जडता तोडि जनताको बहुदलीय जनवाद प्रतिपादन भएको र त्यसैको आलोकमा मनमोहन अधिकारीद्वारा लोकप्रिय सरकार सञ्चालन गरि सुशासन, सामाजिक न्याय र लोककल्याणकारी राज्य स्थापित गर्न सफल भएको तथ्य उल्लेख गर्नुभयो । 
अध्यक्ष चौहानले यो महान दिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, विश्व क्रान्तिका नायक भ्लादिमिर ईलिच लेनिन लगायत कम्युनिष्ट पार्टीका सम्पूर्ण संस्थापक, अग्रज तथा शहिदहरु प्रति श्रद्धाञ्जली एवं सम्मान समेत व्यक्त गर्नुभएको छ ।
२०७५ साल जेठ २ गते पुर्वको एमाले नै आफुहरुको राजनितिक प्रस्थान विन्दु भएको उल्लेख गर्दै अध्यक्ष चौहानले कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी वास्तविक एमालेमा गोलबन्ध हुनु नै पुष्पलाल र लेनिन प्रतिको सच्चा श्रद्धाञ्जली हुने कुरा बताउनुभएको छ ।