अर्घाखाँचीमा फेरि व्यापक कडाई, अनिवार्य मास्क | काम नपरि घरबाट ननिस्कने प्रशासनको अनुरोध


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सार्वजनिक स्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुन नपाइने भएकाे छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितीको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि आज बिहीवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आदेश जारी गरेको छ । 
 भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेकाले अर्घाखाँचीसमेत उच्च जोखिममा रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नका लागि आग्रह गरिएको छ ।  अती आवस्यक काम नपरि घरबाट ननिस्कने निस्कनै परेमा अनिवार्य मास्क लगाउन पर्ने छ । 
“विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने छ । यस्तै  “सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।”
धार्मिक क्रियाकलाप तथा विवाहलगायतका कार्यमा २५ भन्दा बढी व्यक्ति उपस्थित नहुने, सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सवारी साधन दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
होटल तथा रेष्टुरन्ट बिहान ८ देखि साँझ ८ बजेसम्म मात्रै खोल्न पाइने छ । होटल तथा रेष्टुरन्ट, पसलमा आउन परेमा अनिवार्य मास्क लगाउन पर्ने छ ।  बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने बैठकको निर्णय रहेको छ । स्थानीय तहले होम क्वारेन्टिन र होम आइसोलेसनमा बसेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँचका लागि आवश्यक पर्ने देखिएमा प्रयोगशाला वा अस्पतालसँग समन्वय गरी सहजीकरण गर्नुपर्ने छ ।
कोभिड–१९ को चिह्न तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा पोजेटिभ आएका व्यक्तिको पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने छ । जारी प्रावधानको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पुर्याउने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही र सजाय हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको भनाई छ ।
उता अर्घाखाँचीमा बिहीवारको कोरोना विवरण यस्तो छ:-