अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई औपचारिक रुपमा हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको हो ।
माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएका थिए ।
माओवादीले यसअघि रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त ठाउँमा निर्वाचन आयोगले जेठ ६ गतेलाई उपचुनाव घोषणा गरेको छ ।
उता यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँची जिल्लाबाट सांसद बनेका उर्जामन्त्री टोपबहादुर रायमाझी औपचारिक रुपमा पदमुक्त भएका थिए। योसँगै अर्घाखाँचीमा सांसद पद रिक्त भएको छ । प्रतिनिधि सभा सदस्यमा २०७४ मसिर २५ गते सोमवार विजयी भएका रायमाझीको सांसद पद ३ वर्ष ३ महिना २८ दिनपछि गुमेको छ ।
नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि नेकपा एमाले प्रवेश गरेका उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी लगायतका नेताहरुलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रासद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएपछि सांसद पदबाट मुक्त भएका हुन् ।
प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी(२०७७ चैत्र २४, मंगलवार )
रायमाझी सहित उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसदबाट पदमुक्त भएका हुन् ।
उता राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित चन्द्र बहादुर खड्कालाई पनि पदमुक्त गर्न भने राष्ट्रियसभा सचिवालयमा छुट्टै पत्र दर्ता हुने माओवादीले जनाएको छ।
यो स्पेस विज्ञापनको लागि खाली छ ।
रायमाझीको सांसद पद खारेज भएपनि आउँदो ६ महिनासम्म उनी मन्त्री रहन सक्छन् । प्रतिनिधिसभामा दल त्यागका बारेमा सभामुखले जानकारी गराएपछि औपचारिक रूपमा सांसद पद रिक्त हुन्छ । सांसद पद रिक्त भएपछि संसद् सचिवालयले १५ दिनभित्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ । निर्वाचित सांसदको पद रिक्त भएमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने प्रावधान छ । माओवादी केन्द्रको सूचनाअनुसार सांसद पद खारेज भए पनि मन्त्री पद भने तत्काल गइहाल्दैन । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ ।
रायमाझीको पद गुमेसँगै अर्घाखाँचीमा सांसद पद रिक्त भएको छ । संविधानअनुसार संसदको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी रहेको अवस्थामा सांसद पद रिक्त भएमा उपचुनाव गराउनुपर्ने बाध्यात्मक व्यवस्था छ। संविधानको धारा ८४ (७) मा लेखिएको छ, ‘प्रतिनिधि सभाको कार्यकाल छ महीनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ।’ प्रतिनिधिसभाको कार्यकाल अझै २२ महिना छ।
पदमुक्त भएका रायमाझी प्रत्यक्ष निर्वाचनबाट आएकाले चुनावमै जानुपर्ने हुन्छ। सांसद पद रिक्त भए पनि तत्काल उपचुनाव हुने संभावना भने कम देखिन्छ। चुनावका लागि सरकार तयार हुनुपर्ने र उसैले चुनावको मिति तोकेर निर्वाचन आयोगलाई आग्रह गर्नुपर्ने हुन्छ।
तर अहिलको अवस्थामा ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउने कि नपाउने वा अर्को सरकार बन्ने कुनै निश्चित छैन। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए देश ‘अर्ली चुनाव’मा जाने अड्कल बाजी भइरहेका छन्। अर्ली चुनाव भएको खण्डमा उपचुनावको औचित्य सकिन्छ भने संसदले पुरा कार्यकाल काम गर्ने अवस्था बनेमा सत्तामा जो रहन्छ उसले आफू अनुकुल परिणाम आउने अवस्था नबनी चुनावको मिति घोषणा नगर्ने संभावना रहन्छ।
स्रोतका अनुसार रायमाझीले चुनावको तयारीका लागि गाउँ गाउँमा जाने बताएका छन् ।
फागुन २३ गते सर्वोच्चले नेकपाको दर्ता खारेज गरेपछि रायमाझी आफ्नो सांसद पद गए पनि माओवादी केन्द्रमा नफर्कने अडान लिएका थिए ।
उता टाेपबहादुर रायमाझी एमालेमा लागेपछि अर्घाखाँचीमा राजनीतिक भविष्य सुरक्षित गरेका छन् । रायमाझी र खड्का एमालेको केन्द्रिय कमिटीको सदस्य पदमा चयन भएका छन् । साथै रायमाझी नेकपा एमाले जनवर्गीय संगठनको प्रमुखमा चयन भएका छन् ।
रायमाझीले एका एक एमालेमा लाग्ने निर्यण लिनुको कारण अर्घाखाँचीलाई मानिएको छ । एमाले अर्घाखाँची जिल्ला कमिटीका एक सदस्यले नाम नलेख्ने सर्तमा भने; “अर्घाखाँचीमा माओवादीको अवस्था एकदम कमजोर रहेको र ढिलो चाडो निर्वाचन भएमा जिल्लाबाट चुनाव जित्न सहज हुने भएकोले रायमाझीले एमालेलाई रोजेका हुन् । जिल्लामा कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चापछि चौथो नम्बरमा माओवादी छ ।”
यस्तै ति नेताले भने; रायमाझी माओवादीमा लागेको भए जिल्लामा कुनै हालतमा पनि चुनाव जित्न सक्ने अवस्था छैन् । अब एमालेमा चेत नारायण आचार्य र रामजी घिमिरेलाई प्रदेश र आफुलाई प्रतिनिधिसभामा उम्मेदवार दिन कसैले विवाद नै गर्दिनन् । तर जिल्लामा तेस्रो शक्ती राष्ट्रिय जनमोर्चासँग गठबन्धन गर्नुपर्छ, त्यो गर्दा राष्ट्रिय जनमोर्चालाई १ प्रदेश, एमालेलाई १ प्रदेश र प्रतिनिधिसभा दिएर बाम गठबन्धन भएमा सहज चुनाव जित्न सकिने छ । अर्को तर्फ रायमाझी माओवादीमा लागेको भए कांग्रेससँग तालमेल गर्न परेमा माओवादीलाई कांग्रेसले प्रतिनिधिसभा दिदैनन् । कांग्रेसले दिने भनेको प्रदेश हो यो भनेको अर्घाखाँचीमा माओवादी- कांग्रेससँग तालमेल गर्ने शत प्रतिशत असंभव छ । यस कारण टाेपबहादुर रायमाझीले एमालेमा लागेका हुन् । प्रचन्डबाट पटक-पटक धाेकाका पाएकाे कारण होइेन् ।
अर्घाखाँचीडट्कमको पुरानो रेकर्ड अनुसार २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका टोपबहादुर रायमाझीले २०७० मसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका तर्फबाट १२२८६ मत प्राप्त गरेर विजयी भएका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले ११२३४ मत ल्याएको छ भने एमाले १०२४० मतका साथ तेश्रो स्थानमा रहेको थियो । रायमाझीले प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गर्दै विजयी भएका थिए । यस्तै २०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी ले ५०८३७ मत लिई विजयी भएका थिए । रायमाझीले कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरेका थिए । डा. वि.सी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए । यस्तै २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा रायमाझी अर्घाखाँची १ बाट सांसद भएका थिए ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विलयपूर्वको अवस्थामा पुर्याएको थियो। केन्द्रले फागुन २९ गते, चैत्र १ गते र त्यसपछि एक पटक गरि तीनपटक यी मन्त्रीहरुलाई पार्टीमा फर्किन निर्देशन दिनुका साथै आफ्नो धारणा पेश गर्न आग्रह गरेको थियो।
फाइल तस्बिर । अर्घाखाँचीडट्कम