वीरेन्द्र केसी कान्तिपुर
गच्छे, अर्घाखाँची । दाङबाट अर्घाखाँची सदरमुकाम जोड्ने गच्छे–भालुबाङ सडक निर्माण सुरु भएको २२ वर्ष बितिसक्दा पनि ट्र्याक खुल्न सकेको छैन । वार्षिक बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीको लापरबाही र बजेट दुरुपयोग भएका कारण काममा ढिलाइ भएको हो ।
६४ किलोमिटर सडकमध्ये अझै १० किलोमिटर खण्डको ट्र्याक खुल्न बाँकी छ । सदरमुकामदेखि गच्छे बजारसम्म गच्छे–भालुबाङ सडक नामकरण गरी काम सुरु भएको २०५६ बाटै हो । बर्सेनि बजेट परेर काम भइरहन्छ । तर २ किमि लामो उक्त खण्ड अहिलेसम्म अस्तव्यस्त छ ।
अर्घाखाँचीको भूगोललाई पनि समेटेर दाङमा लुम्बिनी प्रदेशको राजधानी प्रस्ताव भएपछि गच्छे–भालुबाङको बाटोमा चासो हुन थालेको छ। एमाले नेता पीताम्बर भुसाल तत्कालीन जिल्ला विकास समितिको सभापति भएका बेला उक्त सडकको नामकरण गरी गच्छे बजारबाट काम सुरु भएको थियो । गच्छेबाट ढिकुरा, धनचौर गाउँसम्म सडक निर्माण गर्न वर्षौं लाग्यो । धनचौरको साप्रे भीरमा जटिल पत्थरसहितको पहरो छेंड्न नसकेपछि बाटो फराकिलो पार्ने काम रोकिएको हो । धनचौर गाउँसम्म मोटरबाटो पुगे पनि त्यहाँबाट पहाड छिचोलेर जलुके गाउँमा सडक जोड्नै वर्षौं लाग्यो । ठूलो भीर भएकाले सडक फराकिलो बनाउन समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ । धनचौरबाट जलुकेको लामातालसम्म ट्र्याक खुलेको छ । लामातालबाट भालुबाङसम्म सडकको रेखांकन नै भएको छैन ।
‘अर्घाखाँचीलाई दाङसित जोड्न सुरु गरिएको सडक हो यो,’ भुसालले भने, ‘बीचमा पत्थरसहितको अप्ठेरो पहाड फोर्न समस्या र गच्छे–भालुबाङ सडकमा परेको बजेट अन्तै तानिएपछि काम रोकिएको हो ।’ पहुँचका भरमा अझै पनि बजेट कटौती गरेर अन्यत्र लगिएको छ ।
‘म जिविस सभापति हुँदा जिल्लाका ४२ वटै गाविसमा मोटर पुर्याउन र छिमेकी जिल्लासँग सन्धिखर्कलाई जोड्न चारवटा सडक सन्धिखर्क–तम्घास, सन्धिखर्क–प्यूठान खलंगा, घुम्ती–पाल्पा र गच्छे–भालुबाङलाई मुख्य सडकका रूपमा नामकरण गरेको थिएँ । अरू सबै डबल कटिङ भएर ग्राभेलसमेत भए ।
’ यसरी बजेट कटौती गर्नु र पछाडि पर्नुको कारण धनचौरदेखि जलुके, लामाताल हुँदै भालुबाङसम्म बस्ती भन्दा चौगुना जंगल क्षेत्र हुनु एवं यस क्षेत्रमा पहुँचवाला नेता नभएकाले ट्र्याक नै नखुलेको उनको बुझाइ छ । ‘मेरै पार्टीका सांसद एवं नेताले मैले मन्त्रालय धाएर परियोजनामार्फत पारेको बजेट पहुँच देखाएर आफ्नो क्षेत्रतिर लगे,’ उनले गुनासो गरे ।
नौमुरे जलविद्युत् परियोजना स्थल नजिकै राप्ती नदीको छेउ लामातालदेखि भालुबाङसम्म घना बस्ती नभएको भन्दै सडक खनिएको छैन ।
सदरमुकामबाट भालुबाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्वपश्चिम राजमार्ग प्रयोग गर्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको चक्ला, ठाडा अमराईबाट जलुके, जुकेना तामाताल, सिद्धारालगायत गाउँमा मोटर पुगेको छ । ‘संघीय संरचना बनेपछि मुख्यमन्त्रीलाई बजेट पारिदिन बारम्बार अनुरोध गरें, पछिल्लो समय चासो लिनुभएको छ, बजेट पर्ला,’ भुसालले भने ।
सन्धिखर्कबाट ढिकुरा, धनचौर दैनिक गाडी आवतजावत गर्छन् । धनचौर डाँडोबाट यता जलुके र जुकेनासम्म अझै पनि नियमित गाडी गुड्दैनन् । जलुके–लामाताल करिब ४ किमि सडक डबल कटिङ भएको छ । ‘बस्तीभन्दा धेरै जंगल र दुर्गम भएकाले सडक निर्माण मात्रै नभएर राज्यको हरेक सुविधा यस क्षेत्रमा प्रभावकारी छैन,’ शीतगंगा नगरपालिका–७ का वडाध्यक्ष मोहनप्रसाद पन्थीले भने ।
पूर्वाधार विकास कार्यालय सन्धिखर्कका प्रमुख विनोद चौधरी वहुवर्षीय योजनामा परेको गच्छे–भालुबाङ सडकमा सानो बजेटको टुक्रे काम मात्रै भइरहेको बताउँछन् ।
‘लामाताल–भालुबाङ ट्र्याक खोल्न र छिट्टै सडक निर्माण सम्पन्न गर्न योजना बनाएर प्रदेश मन्त्रालयमा प्रस्ताव पेश गरें,’ उनले भने, ‘तर प्राथमिकतामै परेन । माग गरे अनुसार बजेट पनि पाइएन ।’ यो सडकको चौडाइ ७ मिटर हो । तर गच्छे–लामातालको केही ठाउँमा मात्रै ७ मिटर फराकिलो पारिएको छ । धनचौरका साप्रे भीरलगायत ठाउँमा पत्थरसहितको पहाड फुटाल्न धेरै बजेट खर्च भएको उनले बताए ।
सडक नभएकै कारण गाउँमा उत्पादित वस्तु नजिकैको भालुबाङ बजारमा सहजै आउन सकेको छैन । ‘भालुबाङ बजार नजिकै छ, त्यहाँ हाम्रा उत्पादन बिक्री गर्न र रासनपानी ल्याउन बाटो भए सहज हुन्थ्यो,’ दमारबेसीका जुनबहादुर पुलामीले भने, ‘नेतालाई बारम्बार अनुरोध गर्दा पनिकसैले सुनेनन् ।’