छत्रगंज र ठुलापाेखरामा वार्ड कार्यालय भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)



अर्घाखाँचीडट्कम संवाददाता
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंज र ६ ठुलापाेखरामा वार्ड कार्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
छत्रगंज र ६ ठुलापाेखरामा वार्ड कार्यालय भवन उद्घाटन, ज्येष्ठ नागरिक सम्मान तथा  ठुलापाेखरामा विपि स्मृति मञ्चकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।  
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले ठूलापोखराको नवनिर्मित वार्ड कार्यालय भवन उद्घाटन, नवनिर्मित वि.पि. स्मृति मञ्चको उद्घाटन र ज्येष्ठ नागरिकहरूलाई सम्मान एकै साथ गर्नुभएको थियो । 
ठूलापोखरामा नवनिर्मित वार्ड कार्यालयमा रहेको शिलालेख अनावरण गरी वार्ड कार्यालय भवन, नवनिर्मित वि.पि. स्मृति मञ्चको वि.पि. को सालिकमा माल्यार्पण गरी वि.पि. स्मृति मञ्चको उद्घाटन भएको छ भने कार्यक्रममा ३० जना ज्येष्ठ नागरिकहरूलाई टिका,माला र ब्ल्याङकेट प्रदान गरी सम्मान गरिएको थियो ।
ठूलापोखराको कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पबन अर्याल, वार्ड जनप्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो । 
यस्तै छत्रगंजमा वार्ड कार्यालयको भवन उद्घाटन कार्यक्रम वडाध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षता,गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता,उपाध्यक्ष तुल्शीदेवी श्रेष्ठ ,निमित्त प्रशासकीय अधिकृत बुद्दिराम न्योउपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । 
आफ्ना पिता भोजबहादुर सेनको दीर्घायुको कामना तथा स्वर्गीय मुमा जमुनादेवी सेनको स्मृतिमा छत्रदेव गाउँपालिका वार्ड न.५ बहखोर निवासी ज्ञानेन्द्रबहादुर सेनले वार्ड कार्यालय भवन निर्माणको लागि आवस्यक पर्ने ४ रोपनी ७ आना जग्गा दान स्वरूप उपलब्ध गराउनु भएको थियो।
रमेशचन्द्र भट्टराई ब्रामणले  ५ कन्यासहित पुजाअर्चना गरी प्रमुख अतिथि लेखनाथ पोख्रेलबाट रिबन काटी शीलापत्र अनावरण गरी वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जग्गादाता ज्ञानेन्द्र सेन लगायत सपरिवार र भवन निर्माण गर्ने निर्माण ब्यावसायी सहिद दीन मियालाइ सम्मान पत्र,दोसल्ला तथा खादाले सम्मान गरिएको थियो । 
यस कार्यक्रममा भर्खरै निर्वाचित हुनुभएका पत्रकार महासंघका क्रमशः लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,अर्घाखाँची जिल्ला कोषाध्यक्ष रुद्रमणि घिमिरे,गुल्मी जिल्ला सह सचिब तेजेन्द्रकुमारश्रेष्ठलाई बधाई तथा सम्मान गरिएको थियो । 
यसै कार्यक्रमसँगै जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र पौस्टिक आहार वितरण  गरी सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि लेखनाथ पोख्रेल , तुल्शीदेवी श्रेष्ठ , बुद्दिराम न्योपाने,राजेशकुमार पन्थी , ने.का.पार्टीबाट कुलबहादुर रायमाझी ,ने.क.पा.एमालेबाट माधवप्रसाद पन्थी र पत्रकारको तर्फबाट प्रेमनारायण आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
वार्ड सदस्य कृष्णप्रसाद पौडेलको स्वागत र वार्ड सचिव भास्कर आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

अन्य समाचारहरु