अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको चिचौरका एक युवाको भारतको नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्यु भएको छ ।
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्यु भएको हो ।
लामो समयदेखि वर्षदेखि ग्रेटर कैलाशमा घरेलु नोकरी गर्दै आएका दिपकलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । मृतकको नयाँ दिल्लीमा दाहसंस्कार गरिएको छ ।
उता योसँगै भारतमा गत चैत्र ३१ गते यता १३ दिनको अवधीमा ६ जनाको मृत्यु भएको छ ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको शनिबार भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको छ ।
मृतकका भाई रामु सुनारले डट्कमलाई जानकारी गराए अनुसार करिब १२ वर्षदेखि भारतमा नोकरी गर्दै आएका बिष्णुको ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । मृतकको राजस्थानमा दाहसंस्कार गरिएको छ । श्रीमती, छोरा छोरी ढिकुरामा रहेका छन् ।
यसअघि २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो ।
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो । साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको गुडगाउँमा मृत्यु भएको थियो ।
यस्तै हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।