अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल सहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछी जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।
प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक प्रदान गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । शान्ति–सुरक्षा, विपद्, उद्धार लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बैसाख २२ गतेसम्मका लागि स्थगित गरिएको प्रजिअ पौडेलले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी खनाल सहित २८ जनामा मंगलवार कोरोना संक्रमण पुष्टी भएको थियो । अर्घाखाँचीमा अहिलेसम्म ८ सय ६१ जनामा कोरोना संक्रमण देखिएकोमा हाल ४९ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा १९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।