अर्घाखाँचीमा एम्बुलेन्सले २०० रुपैयाँ भाडा लिई मान्छे ओसारपसार गर्दै (भिडियो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ।
लु १ झ ४७८ नम्बरको एम्बुलेन्सले हिजो बुधवार राती बुटवलबाट अर्घाखाँचीको पुर्कोट दहसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार गर्ने गरेको हो।
उक्त सरकारी एम्बुलेन्सले पुर्कोट दहसम्म प्रति व्यक्ति २ सय रुपैयाँका दरले भाडा उठाई १० जना मान्छे हालेर आएको थियो।  अस्थायी ट्राफिक प्रहरी ठाडाले एम्बुलेन्सलाई नियन्त्रणमा लिई चालकलाई कानुन बमोजिम कारबाही गरेको छ ।
बिरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउने, त्यसलाई पास जस्तो गरेर अन्य यात्रु हालेर ल्याएको उक्त एम्बुलेन्सले अर्घाखाँचीका लागि बुटवलबाट छुटेको थियो। पुर्कोट दह जाने सबै भारतबाट आएका थिए ।
मान्छे बिरामी भएको खण्डमा सुविधा सम्पन्न अस्पतालमा लिनु पर्ने ठाउँमा दुर्गम पुर्कोट दहमा मान्छे ओसार्नु गैह्र जिम्मेवार र लकडाउनको चरम उल्लंघन भएको देखिन्छ। अर्घाखाँचीमा एम्बुलेन्सहरुले बिरामीको नाममा कागजपत्र बनाई मान्छे राखेर ओसारपसार गर्दै आएका छन् ।
रुपन्देहीमा निषेधाज्ञा जारी छ ।