ढाकावाङका एक पुरुषको पन्जावमा निधन | भारतमा १७ दिनको अवधीमा ७ जना अर्घाखाँचीबासीको निधन


माधव खनाल |  अर्घाखाँचीडट्कम संवाददाता
पन्जाव, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  १ ढाकावाङको राजिमेका एक पुरुषको भारतको पन्जाव स्थित नाग्बा शहरमा कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको छ । 
ढाकावाङको राजिमेका ५६ वर्षिय विष्णु प्रसाद खनालको बुधवार राती १०:३० बजे भारतको पन्जाव स्थित नाग्बा शहरमा कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको हो । 
करिब ३० /३२ वर्षदेखि पन्जाव स्थित नाग्बा शहरमामा मन्दिरको रेखदेख गर्ने काम गर्दै आएका खनाललाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । मृतकको पन्जावमा दाहसंस्कार गरिएको छ । 
उहाँको परिवारमा श्रीमति १ छोरा २  छोरी हुनुहुन्छ ।  २ दुई छोरा मध्ये जेठा छोराको करिव ८ वर्ष पहिले रोजगारीको सिलसिलामा मलेसियामा निधन भएको थियो । 
१७ दिनको अवधीमा ७ जनाको मृत्‍यु
अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार तथा विवरण अनुसार योसँगै भारतमा गत चैत्र ३१ गते यता १७ दिनको अवधीमा ७ जनाको मृत्‍यु भएको छ । 
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको गत वैशाख ११ गते शनिबार कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्‍यु भएको थियो ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको वैशाख ११ गते शनिबार नै भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको थियो  ।
मृतकका भाई रामु सुनारले डट्कमलाई जानकारी गराए अनुसार करिब १२ वर्षदेखि भारतमा नोकरी गर्दै आएका बिष्णुको ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । मृतकको राजस्थानमा दाहसंस्कार गरिएको छ ।  श्रीमती, छोरा छोरी ढिकुरामा रहेका छन् । 
यसअघि  २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय  छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो । 
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो । साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर  ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको  गुडगाउँमा  मृत्‍यु भएको थियो । 
यस्तै  हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।  

ढाकावाङका एक पुरुषको पन्जावमा निधन | भारतमा १७ दिनमा ५ जना अर्घाखाँचीबासीको निधन