बाँगीको श्री शान्ति माविका शिक्षक-शिक्षिकाको लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन


जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका–५, बाँगी अवस्थित श्री शान्ति माध्यमिक विद्यालयका प्राथमिक तहका शिक्षक शिक्षिकाको लागि १० दिने आधारभूत कम्प्युटर तालिम १४ गते मंगलबारदेखी सञ्चालन गरिएको छ ।
अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले वताउनु भयो ।
इन्टरनेटका माध्यमबाट आवश्यक शैक्षिक सामग्री जुटाउनेदेखि डिजिटल पाठयोजना निर्माणसम्मको योजनाअनुसार तालिम अघि बढाइएको उहाँको भनाइ रहेको छ ।
तालिमको उदघाटन गर्दै विद्यालयका सहायक प्र.अ माधब प्रसाद पन्थीले कम्प्युटर शिक्षा अहिलेको अपरिहार्य र कम्प्युटर ज्ञान विना कुनै पनी काम गर्न नसकीने भन्दै प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जनाका लागि सर्वप्रथम शिक्षक दक्ष हुनुपर्ने बोध गरेर विद्यालयले तालिमको आयोजना गरिएको जनाउनु भयो ।
आधुनिक समयसापेक्ष अध्यापनका लागि शिक्षकलाई कम्प्युटर तालिम सञ्चालन गरेर शान्ति माविले अर्को एउटा फड्को मार्ने भन्दै सहायक प्र.अ पन्थिले विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने र अहिलेको यो विषम परिस्थीतिलाई मध्यनजर गर्दै शिक्षकहरुलाई तालिम दिएर दक्ष बनाई शिक्षण विधिलाई प्रविधीमैत्री बनाउने बताउनु भयो ।
उक्त तालिम विद्यालयका प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् तर्फको टिम प्रशिक्षक इन्जिनियर जीवन खनाल, इन्जिनीयर विकाश कुँवर, सहायक प्रशिक्षक जय बहादुर रोकाय र रेशम भुसालको प्रशिक्षण तथा सहजीकरणमा संचालन भइरहेको विद्यालय प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् तर्फका सहायक परिक्षक जय बहादुर रोकायले जानकारि दिनुभयो ।
उक्त तालिमको उदघाटन कार्यक्रममा विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक÷शिक्षिका र कर्मचारीको सहभागिता रहेको थियो । स्मरण रहोस् विद्यालयले यस अघि पनी आधारभूत र माध्यमिक तहमा अध्यापनरत सम्पुर्ण शिक्षक शिक्षिकालाई १० दिने कम्प्युटर सम्बन्धी आधार तालिम दिएर शिक्षण विधीलाई प्रविधी संग जोड्दै विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १२ सम्मका विध्यार्थीहरुलाई अनलाईन माध्यम बाट पठानपाठन संचालन गरेको थियो ।