नुवाकोटको च्युरामाटी बाँजाखर्कका एक पुरुषको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकाथान नगरपालिका वडा नं. ८ नुवाकोटको च्युरामाटी बाँजाखर्कका एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । 
अर्घाखाँची जिल्लाको नुवाकोट । 

परिवारले जानकारी गराए अनुसार नुवाकोटको च्युरामाटी बाँजाखर्कका ५० वर्षिय राम प्रसाद गैरेको कोरोना संक्रमणका कारण शुक्रबार निधन भएको हो । 
कोरोना संक्रमण भई अर्घाखाँची अस्पतालमा उपचाररत गैरेलाई थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । तर काठमाण्डौमा आईसियु बेड पाउन सकेका थिएनन् ।  नेपाल मेडिकल कलेजमा अक्सिजन दिएर उपचार चलेकै अबस्थामा निधन भएको थियो । 
  
झण्डै २ हप्ता पहिला भारतबाट आएका  गैरेलाई ज्वरो,  श्वास–प्रश्वासमा समस्या रहेको बताइएको थियो । मृतक गैरेका श्रीमती १ छोरी र १ छोरा रहेका छन् ।
जिल्लामा योसँगै हालसम्म काेराेना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय काेराेनाका नयाँ संक्रमित दिन प्रतिदिन बढदै गएको छ । 
जिल्लामा आजसम्म संक्रमितको संख्या ८८३ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ४०७ जना, भूमिकास्थान नगरपालिकामा १६१, शितगंगा नगरपालिकामा ११९,   मालारानी गाउँपालिकामा ९७,      पाणिनी गाउँपालिकामा ३६   र छत्रदेव गाउँपालिकामा ६३  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७९३   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७८  जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
उता जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।