अर्घाखाँचीको जिल्ला अस्पताल आईसीयूविहीन, अक्सिजनको पनि अभाव


वीरेन्द्र केसी कान्तिपुर | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) उपलब्ध नहुँदा कोरोना संक्रमित उपचारबाट वञ्चित भएका छन् । कतिपयले ज्यानसमेत गुमाएका छन् ।
अर्घाखाँचीको जिल्ला अस्पताल आईसीयूविहीन छ । यो अस्पतालमा कोरोनाको सामान्य उपचार मात्रै हुन्छ । आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई चार/पाँच घण्टाको यात्रामा बुटवल लैजानुपर्ने हुन्छ । जसका कारण बिरामीले उपचार अभावमा ज्यानैसमेत गुमाउनुपरेको छ ।
आईसीयू बेड नभएकै कारण सन्धिखर्क अस्पतालमा मंगलबार एक संक्रमितको मृत्यु भयो । श्वासप्रश्वासमा अप्ठेरो भएपछि अस्पताल भर्ना भएका मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय रामप्रसाद भुसालको अस्पताल ल्याएको २ घण्टामै मृत्यु भएको हो । वैशाख ९ मा प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको थियो । त्यहाँ बेड नपाएर घर फर्केका उनलाई श्वास फेर्न गाह्रो भएपछि सन्धिखर्क अस्पतालमा ल्याइएको थियो ।
यस्तै नुवाकोटको च्युरामाटी बाँजाखर्कका ५० वर्षिय राम प्रसाद गैरेको कोरोना संक्रमणका कारण शुक्रबार निधन भएको छ । कोरोना संक्रमण भई अर्घाखाँची अस्पतालमा उपचाररत गैरेलाई थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । तर काठमाण्डौमा बेड पाउन सकेका थिएनन् ।  
सन्धिखर्क अस्पतालमा आईसीयू सुविधा छैन । अहिले अक्सिजन पनि अभाव छ । अस्पताल प्रमुख डा. कपिल गौतम अक्सिजन लिन भन्दै बुधबार संघीय सरकारको स्वास्थ्य विभाग काठमाडौं गएका छन् । कोरोनाका बिरामीलाई आवश्यक स्वास्थ्य सामग्री लिन काठमाडौं जानु परेको उनले बताए । सन्धिखर्कबाट एम्बुलेन्समा बुटवल पुग्न चार घण्टा लाग्छ । त्यहाँ पनि बेड अभाव भएकाले सहजै उपचार पाउन सक्दैनन् । जिल्लामै कोरोनाका जटिल बिरामीले उपचार सेवा पाऊन् भनेरै प्रदेश सरकार र केन्द्रको स्वास्थ्य विभागमा आईसीयू सेवा सञ्चालन गर्न अनुमति माग गरेको डा. गौतमले बताए ।