धारापानीमा काेराेना नियन्त्रण सम्बन्धी सर्वपक्षीय भेला सम्पन्न


टेकराज भुसाल
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  ३ र ४ धारापानीकाे कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि संयुक्त सर्वपक्षीय भेला धारापानीकाे शान्ति माविमा सम्पन्न भएको छ।
भेलाले भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ धारापानीमा रहेका सम्पुर्ण पसलहरु बैशाख १९ गतेदेखि १ दिन बिराएर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्ने, दुबै वार्डमा रहेका यातायातका साधनहरु अत्यावश्यक काममा बाहेक सञ्चालन नगर्ने, प्रधानमन्त्री राेजगार कार्यक्रम अनिश्चित कालका लागि बन्द गर्ने, सहकारी संस्थाहरु पुर्ण रुपले बन्द गर्ने र  वडा कार्यालयबाट प्रदान हुने सेवाहरु अत्यावश्यक परेकाे खण्डमा मात्र सञ्चालन गर्ने निर्णय गरेकाे छ।
त्यस्तै भेलाले क्वारेन्टाइन व्यवस्थापनका लागि सागर केसीकाे संयोजक रहेको टिमलाई जिम्मेवारी दिने र वार्ड नम्बर ४ मा रहेको काेभिड अस्थायी अस्पतालमा आवश्यक जनशक्ति, प्रविधि र औजारहरुकाे व्यवस्थापन गरि पुन सञ्चालनमा ल्याउन र काेभिड १९  राेगकाे परिक्षणकाे दायरा बढाउन भुमिकास्थान नगरपालिका समक्ष अनुरोध गर्ने निर्णय गरेको भमिकास्थान ४ नम्बर वडा कार्यालयले जनाएको छ।