अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालका प्रमुुख डा. कपिल गौतमले स्वास्थ्य सामाग्री लिएर जिल्ला फर्केका छन् ।
अक्सिजन अभाव भएपछि वैशाख १५ गते बुधवार संघीय सरकारको स्वास्थ्य विभाग काठमाडौं गएका गौतमले ३० वटा अक्सिजनका ठूला सिलिण्डर ग्यास, एन्टिजेन किट, ग्लोप्स, मास्क, कोरोना किट, स्यानेटाइजर, पिपिआई लगायतका सामाग्री ल्याएर शनिवार सन्धिखर्क आइपुगेका हुन् ।
डा. गौतमले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार कोभिड संक्रमितको उपचारको लागी भोलीदेखि अक्सिजन जडित आइसाेलेसन तयार हुँदैछ । भने अब कोरोना संक्रमितलाई जिल्ला बाहिर जान नपर्ने भएको छ ।
स्वास्थ्य सामाग्री काठमाडौ र बुटवलका नीजि क्षेत्रबाट सहयोगमा आएको बताइएको छ । स्वास्थ्य सामाग्रीमा अर्घाखाँची सिमेन्ट प्रा.लि.ले ४ वटा अक्सिजन दिएको बताइएको छ । साथै थप सहयोगका लागि गौतमले सहयोगी दातालाई आग्रह गरेका छन् ।
यस्तै आज जिल्ला अस्पतालमा ६ जना कोभिड संक्रमित विरामीको उपचार हुँदैछ ।
उता जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १५१ जना पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालिकामा ८२ जना, भूमिकास्थान नगरपालिकामा २६, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनी गाउँपालिकामा ६ र छत्रदेव गाउँपालिकामा १३ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ९६६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४६५ जना, भूमिकास्थान नगरपालिकामा १६७, शितगंगा नगरपालिकामा १२३, मालारानी गाउँपालिकामा १०४, पाणिनी गाउँपालिकामा ३९, र छत्रदेव गाउँपालिकामा ६८ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७९३ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, भूमिकास्थान नगरपालिकामा १३५, शितगंगा नगरपालिकामा १०६, मालारानी गाउँपालिकामा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा हालसम्म काेराेना संक्रमणका कारण २२ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा १५१ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको छ ।
सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका सबै पालिकामा चहलपहल, आवतजावतमा कमी हुनुका साथै एकाएक सुनसान हुँदै गएको हो । जिल्लाभर पसलहरु धमाधम बन्द हुँदै गएका छन् ।
साथै जिल्लाभर पुर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सवारी साधनहरु पनि कम चलेका छन् । जिल्लामा निषेधाज्ञा (लकडाउन) भएको महशुस गरिएको छ । साथै जिल्लाका सबै पालिकाबाट दिने सेवा पनि केही दिनका लागि बन्द गरिएको छ ।
उता जिल्लामा यही अवस्था अर्थात चहलपहल, आवतजावत कमको अवस्था रहे निषेधाज्ञा (लकडाउन) गर्न पर्ने आवश्यक नदेखिएको बताइएको छ ।