अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सबै गतिविधी ठप्प भएको अर्घाखाँची जिल्लामा भाेलीदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले भोली बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मलाई जिल्लामा निनिषेधाज्ञा जारी गर्ने निर्यण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार कोभिड नियन्त्रणको लागि भन्दै भोली सोमवार राती १२ बजेदेखि अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने भएको छ ।
निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने छ ।
औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्किनेबाहेक अरू प्रयोजनमा स्थानीयलाई घर बाहिर निस्किन रोक लगाइएको छ।
केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको थियो ।
सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका सबै पालिकामा चहलपहल, आवतजावतमा कमी हुनुका साथै एकाएक सुनसान हुँदै गएको र जिल्लाभर पसलहरु धमाधम आँफै बन्द हुँदै गएका थिए ।
साथै जिल्लाभर पुर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सवारी साधनहरु पनि कम चलेका छन् । जिल्लामा निषेधाज्ञा (लकडाउन) भएको महशुस गरिएको छ । साथै जिल्लाका सबै पालिकाबाट दिने सेवा पनि केही दिनका लागि बन्द गरिएको छ ।
उता जिल्लामा यही अवस्था अर्थात चहलपहल, आवतजावत कमको अवस्था रहे निषेधाज्ञा (लकडाउन) गर्न पर्ने आवश्यक नदेखिएको बताइएको थियो ।