अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा हटियाका एक युवाको हृदयघातका कारण भारतको राजधानी नयाँ दिल्लीमा निधन भएको छ ।
ठाडा हटियाका राम बहादुरका ३३ वर्षिय साईलो छोरा सुभास कुमारको गत शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको हो ।
ठूलो दाजु प्रेम कुमारले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार सुभासको शुक्रबार ८:२५ बिहान घरमा हृदयघातका कारण निधन भएको थियो ।
मृतकको दिल्लीमा दाहसंस्कार गरिएको छ । उनको परिवारमा श्रीमति एक छोरा, एक छोरी तथा आमा रहेका छन् ।
उता अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार तथा विवरण अनुसार योसँगै भारतमा गत चैत्र ३१ गते यता २० दिनको अवधीमा विभिन्न कारणले ८ जनाको मृत्यु भएको छ ।
२० दिनको अवधीमा ८ जनाको मृत्यु
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको गत वैशाख ११ गते शनिबार कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्यु भएको थियो ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको वैशाख ११ गते शनिबार नै भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको थियो ।
साथै २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो ।
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो ।
साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको गुडगाउँमा मृत्यु भएको थियो ।
यस्तै हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।