अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर ४ पटौटीको कुडापानीका एक जना युवाको भारतको राजधानी नयाँ दिल्ली स्थित किशनगढ़मा हृदयघातका कारण निधन भएको छ ।
पटौटीको कुडापानीका बुवा हुम बहादुर थापा छेत्री र स्व. आमा शान्ता थापा छेत्रीका ४० वर्षिय थम्मन सिंह थापा छेत्रीको वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको हो ।
भाई उमेश छेत्रीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार होटल लाईनमा काम गर्दै आएका उनको अचानक निधन भएको थियो । उनलाई कुनै स्वास्थ्य समस्या थिएन् । उक्त दिन बिहान् २ वटा रोटी समेत खाएका थिए । उनी दिल्ली गएको ४,५ महिना मात्र भएको थियो ।
मृतकको दिल्लीमा दाहसंस्कार गरिएको छ । थम्मनका परिवारमा श्रीमती बिष्णु रायमाझी थापा छेत्री, र ५ वर्षको १ र १५ महिनाको अर्को छोरा छन् । साथै भाईहरु लुम बहादुर थापा छेत्री, उम बहादुर थापा छेत्री र उमेश छेत्री रहेका छन् ।
२४ दिनको अवधीमा ११ जनाको मृत्यु
उता अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार तथा विवरण अनुसार योसँगै भारतमा गत चैत्र ३१ गते यता २४ दिनको अवधीमा विभिन्न कारणले ११ जनाको मृत्यु भएको छ ।
यसमा मालारानी गाँउपालिका वार्ड नम्बर २ मरेङको रानीचौरका ५३ वर्षिय लाल बहादुर नेपालीको वैशाख २० गते सोमबार कोरोना संक्रमणका कारण उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली स्थित नोयडामा निधन भएको थियो ।
मालारानी गाँउपालिका वार्ड नम्बर ५ बाँगीको कुजेरीका ४५ वर्षिय श्री किसन थापाको वैशाख २० गते सोमबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा हटियाका राम बहादुरका ३३ वर्षिय साईलो छोरा सुभास कुमारको गत वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको गत वैशाख ११ गते शनिबार कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्यु भएको थियो ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको वैशाख ११ गते शनिबार नै भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको थियो ।
साथै २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो ।
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो ।
साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको गुडगाउँमा मृत्यु भएको थियो ।
यस्तै हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।