अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीमा आईपुगेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा पदभार ग्रहण गरेको दोस्रो दिन आचार्य गृह जिल्ला अर्घाखाँचीमा आईपुगेका हुन् । उनलाई ठाडा र सन्धिखर्कमा एमाले कार्यकर्ता तथा स्थानीयले स्वागत गरेका थिए ।
यस्तै इलाका प्रहरी कार्यालय ठाडाका इन्चार्ज सन्दिप बेल्बासे तथा कार्यरत प्रहरीहरुलाई कोरोना रोगथाम र शुरक्षाका लागि कुनै कम हुन नदिन निर्देशन दिएका थिए । साथै मन्त्री आचार्यले ठाडा स्वास्थ्य केन्द्रमा डाक्टरको ल्याउन पहल गर्ने प्रतिवद्धता गरेका छन् ।
नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले वैशाख २२ गते बुधवार पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण गरेका थिए ।
२०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा एमाले)बाट अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ सदस्यमा आचार्य विजयी भएका थिए । आचार्यले नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका थिए । वाम गठबन्धनका उम्मेदवार आचार्यले २४,७५१ मत पाएका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका थिए ।
मन्त्री आचार्यको बारेमा:-
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ साविक अर्घा – ३ को अधेरीमा वि.स २०२५ साल जेष्ठ २५ गते बुवा टिकाराम आचार्य र माता तारादेवी आचार्यका माइलो छोरा हुन् । बुवा स्व. टिकाराम नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका संस्थापक सदस्य थिए । साथै कानुनमा स्नातक तह पढेका आचार्यको भुमिगत राजनीति २०४० सालमा नेकपा एमालेको बिद्यार्थी संगठनबाट शुरु भएको थियो । यस्तै २०४४ – २०६६ सालसम्म जिल्ला कमिटी सचिव, २०६६ – २०६९ सालसम्म अञ्चल कमिटी सचिवालय सदस्य थिए । र २०७० सालदेखि हालसम्म एमाले जिल्ला कमिटी अध्यक्ष रहेका छन् । साथै आचार्यका परिवारमा श्रीमती दिपा पन्थी आचार्य र छोरा डाक्टर सुबाष आचार्य र छोरी डाक्टर सुप्रभा आचार्य रहेका छन् । आचार्य पहिलो पटक २०७८ वैशाख २१ गते मंगलवार लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए ।
सात ठूला रोगहरुलाई जितेर नयाँ जीवन´
मानिसलाई एउटै रोगले पनि ज्यान लिने गरेको छ । जटिल प्रकारका रोग लागि थुप्रै व्यक्तिले अकालमै मृत्युबरण गरेका छन् । ठूला रोग लागेपछि बाच्न सकिँदैन भन्ने मान्यता हाम्रो समाजमा विद्यमान छ । बलियो आत्मबल, प्राकृतिक चिकित्सा र खानपानमा ध्यान दिए ठूला रोगहरुसँग पनि सजिलै लड्न सकिँदो रहेछ भन्ने उदाहरण बनेका छन् नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका नबनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य । क्यान्सर, मृगौलामा खरावी, पायल्स, कलेजोको समस्या, मुटु, बाध र मधुमेहका रोगी आचार्यलाई अहिले कुनै रोग छैन । जटिल प्रकारका रोगले ग्रसित आचार्यको स्वास्थ्यमा आश्चर्यजनक तबरले सुधार आउला भनेर कसैले सोँचेको थिएन । उनको शरिरमा रहेको छालाको क्यान्सर पनि पूर्ण रुपमा निको भएको छ । २०७१ साल देखी २०७४ सालको बिचमा आचार्यले नवलपरासीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजरमा बसेर उनले क्यान्सर बाहेकका सबै रोग निको परेका थिए । प्राकृतिक चिकित्सा बिधिको उपचारबाट उहाँले मृगौलामा देखिएको गम्भीर प्रकारको समस्यालाई निको पारेपछि उहाँमा अन्य रोगसँग लड्ने आत्मबल बढ्यो । क्रमैसँग अन्य रोगहरुलाई निको पार्दै गएपछि क्यान्सरको उपचारमा केन्द्रीत बने । क्यान्सरको लागि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौं हुँदै दिल्लीको मेदान्त हस्पिटल सम्म पुगेर उपचार गरे । ‘ मैले नयाँ जीवन पाएँ हो हुँ ’ बिगतलाई स्मरण गर्दै आचार्यले भने , ‘दृढ संकल्पका साथ प्राकृतिक चिकित्साबिधि अपनाउने हो भने म जस्ता धेरै रोगीले अकालमा ज्यान फाल्न पर्दैन्थ्यो ।’ उनले रोग लागिहाल्यो भनेर नअताल्लिई धैर्य र संयमता अपनाएर उपचार गरेमा मनोवैज्ञानिक असर कम पर्ने बताए । ‘आत्मबल कमजोर बनाएको भए म बाच्ने थिइँन’ उनले थपे , ‘रोगसँग लड्ने शक्ति भनेकै आत्मबल रहेछ ।’ यस्तै उनले कोरोनालाई समेत पराजित गरेका थिए । अर्घाखाँचीडट्कम