राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री रामबहादुर थापा बादल र खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा एमालेका उम्मेदवारसमेत रहेका गृहमन्त्री बादल उम्मेदवारी दर्ता गर्न काठमाडौंबाट हेलिकप्टरमा हेटौंडा पुगेका थिए।
बादलको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकास मन्त्री सरस्वति बस्नेत छन्।
यस्तै देवकोटाको प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस छ। तर उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएका छन्।
देवकोटा संघीयताविज्ञ पनि हुन्।
निर्वाचन अधिकृत कार्यालय हेटौंडा पुगेर बादल र देवकोटाले शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन्।
जेठ ६ गते हुने उपनिर्वाचनका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी परेको छ। आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन आयोगले दिएको छ।
बादल २०७४ सालमा बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमालेमा गएपछि माओवादी केन्द्रले कारवाही गरेको थियो।
बादलको पद रिक्त भएपछि उक्त ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो।
यहाँ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। सेतोपाटीमा समाचार छ ।