अर्घाखाँची अस्पतालमा श्रीमतीको मृत्यु भएपछि श्रीमान सम्पर्कविहीन, अझै फेला परेनन्


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा श्रीमतीको मृत्युको खबर पाएको केहीबेरमै सम्पर्कविहिन भएका श्रीमान १५ घन्टा हुँदासम्म सम्पर्कमा आएका छैनन् ।
जलुके घर भई भई ठाडाको भेडामारे पेट्रोलपम्प नजिकै होटल व्यवसाय सञ्चालन गर्दै आएका बिष्णु आचार्यकी श्रीमती २३ वर्षिय शोभा आचार्यको अर्घाखाँची अस्पतालमा कोरोना संक्रमणका कारण आईतवार बिहान ४ बजे मृत्यु भएको थियो । श्रीमतीको मृत्युको खबर पाएपछी उनी अस्पताल परिसरबाटै सम्पर्कविहिन भएका थिए । त्यसपछी उनी परिवारजन, आफन्त, ईष्टमित्रसंग सम्पर्कमा आएका छैनन् ।
श्रीमतीको मृत्युपछी उनका दाजु पर्ने टानबहादुर आचार्यसंग फोनमा बिरहका कुरा गरेका बिष्णुले त्यसपछी फोन अफ गरेका र हालसम्म सम्पर्कमा नआएको दाजुले बताए । ‘बिहान श्रीमतीको मृत्युको खबरपछी मसंग फोनमा कुरा भएको थियो, बिरहका कुरा गर्दै थियो, उनले भने,‘मैले सम्झाईबुझाई गरेको थिएँ, त्यसपछी फोन अफ भयो, अहिलेसम्म सम्पर्कविहिन छ ।’ बुहारी गुमाएर पिडा भोगेको परिवारमा भाई हराउँदा झन् चिन्ता थपिएको उनले बताए ।
प्रहरी र प्रशासनलाई खरब गरिसकेको भन्दै उनले कहीकतै फेला पारे सम्पर्क गरिदिन आग्रह गरेका छन् । कहिंकतै देख्नुहुने महानुभावले नजिकको प्रहरीचौकी वा ९८५७०२८६३७ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।