अर्घाखाँचीमा कांग्रेसले आफ्नो पार्टी कार्यालय आइसोलेशन बनाउन दिने


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय बिपी स्मृति भवनलाई अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खनाल मुस्कानले एक विज्ञप्ती जारी गरी आफ्नो सन्धिखर्कमा रहेको पार्टी कार्यालय बिपी स्मृति भवनलाई अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेका हुन् ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइशोलेसन र क्वारेन्टाइन निर्माणका लागि पार्टी कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेको मुस्कानले  बताए ।
‘आइसोलेशन बनाउन स्थानीय, प्रदेश, संघीय सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहेको खण्डमा तत्काल प्रयोगमा दिने व्यवस्था मिलाइएको छ’– मुस्कानले बताए ।
कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारी र निजी अस्पतालले मात्रै संक्रमितको उपचार थेग्न नसक्ने अवस्था देखेर पार्टी कार्यालयलाई कोरोना नियन्त्रणमा नआउंदासम्मका लागि दिने निर्णय गरिएको मुस्कानको भनाई छ ।  
अस्पतालमा बेड र अक्सिजन अभाव भएकाले तत्काल आपूर्तिको व्यवस्था गर्न कांग्रेस अर्घाखाँचीले सरकारसँग माग गरेको छ । अर्घाखाँचीडट्कम