उर्जा मन्त्री रायमाझीले पठाएका स्वास्थ्य सामाग्रीहरु थानकोटमा रोकेपनि अन्तत: अर्घाखाँची आईपुगे | सिलिन्डर होल्ड गरेको भ्रम छर्दै मिडियाहरु


दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री  टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई पठाएका सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु सन्धिखर्कमा आईपुगेका छन् । 
मन्त्री रायमाझीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै आफ्नो गृह जिल्लाको लागि पठाएका अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका १२ थरिका स्वास्थ्य साम्रगीहरु बिहीवार जिल्ला अस्पताल अर्घाखाँचीमा आईपुगेका हुन् । रायमाझीका स्वकीय सचिव लिला जिसी लगायतको टाेलीले उक्त सामाग्री सन्धिखर्क ल्याएको हाे । 
अर्घाखाँचीडट्कमलाई प्राप्त विवरण अनुसार जिल्लालाई २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
मन्त्री रायमाझीले अक्सिजन सहित स्वास्थ्य सामाग्री पठाइदिएपछि धेरै राहत भएको अस्पताल प्रमुख डा. कपिल गौतमले बताए । अर्घाखाँची अस्पतालमा १० शैयाको एचडीयू र ६ शैयाको जनरल वेड सञ्चालित छन् । अहिले कोरोना संक्रमित २३ जना विरामीको उपचार भैरहेको उनले बताए । अक्सिजन अभाव थियो, अब राहत भएको डा. गौतमले बताए । 
अर्घाखाँचीमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दो रहेको र  श्रोतसाधनले थेग्ने अवस्था नरहेको बताइएको बेला उर्जा टोपबहादुर रायमाझीले ठुलो परिणाममा स्वास्थ्य सामाग्रीहरु जिल्लालाई उपलब्ध गराएका हुन् ।
यस बाहेक पुन: आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउने बताएका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।
मन्त्री रायमाझी वैशाख १३ गते  सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना  रिपोर्ट  नेगेटिभ आएको थियो ।