अर्घाखाँचीडट्कम संवाददाता | गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई पठाएका सिलिण्डर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरु जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ ।
उर्जा मन्त्री रायमाझीले पठाएका अक्सिजन सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरु निर्वतमान राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेल, प्रमुख स्वकीय सचिव लिला जिसीले संयुक्त रुपमा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. गाैतमलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री रायमाझीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै आफ्नो गृह जिल्लाको लागि पठाएका अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका १२ थरिका स्वास्थ्य साम्रगीहरु बिहीवार जिल्ला अस्पताल अर्घाखाँचीमा आईपुगेका थिए । रायमाझीका स्वकीय सचिव लिला जिसी लगायतको टाेलीले उक्त सामाग्री सन्धिखर्क ल्याएको थियो ।
अर्घाखाँचीडट्कमलाई प्राप्त विवरण अनुसार जिल्लालाई २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
मन्त्री रायमाझीले अक्सिजन सहित स्वास्थ्य सामाग्री पठाइदिएपछि धेरै राहत भएको अस्पताल प्रमुख डा. कपिल गौतमले बताए । अर्घाखाँची अस्पतालमा १० शैयाको एचडीयू र ६ शैयाको जनरल वेड सञ्चालित छन् । अहिले कोरोना संक्रमित २३ जना विरामीको उपचार भैरहेको उनले बताए । अक्सिजन अभाव थियो, अब राहत भएको डा. गौतमले बताए ।
अर्घाखाँचीमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दो रहेको र श्रोतसाधनले थेग्ने अवस्था नरहेको बताइएको बेला उर्जा टोपबहादुर रायमाझीले ठुलो परिणाममा स्वास्थ्य सामाग्रीहरु जिल्लालाई उपलब्ध गराएका हुन् ।
यस बाहेक पुन: आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउने बताएका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।
मन्त्री रायमाझी वैशाख १३ गते सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।