अर्घाखाँचीका गाउँ-गाउँमा घरैपिच्छे ज्वरो र रुघाखोकी लागेका विरामी


रमेश विश्वकर्मा 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका गाउँ-गाउँमा ज्वरो र रुघाखोकी लागेका विरामी प्रायः घरैपिच्छे छन् । एउटै घरमा सबै विरामी परेका छन् । पाणिनी गाउँपालिका–५ मैदानको बोखरका राजेन्द्र विकको सबै परिवार रुघाखोकी र ज्वरोको विरामी छन् । निषेधाज्ञा भएपछि काठमाडौबाट घरमा आएका छोराछोरीलाई ज्वरो र रुघाखोकी लाग्यो । त्यसपछि राजेन्द्र र छोरी विरामी परेका छन् । घरमा छुटाछुटै त बसेका छन् ।
उनीहरुले गाउँमै रहेको स्वास्थ्य चौकीमा चेक गराएर औषधि, तातोपानी, बेसार, जुर्गाेपनी लगायत जडिबुटी खाएर आराम गरेका छन् । मैदानकै यादव विकको तीन, इन्द्रमणि घिमिरे, चन्द्रमणि घिमिरेका सबै परिवार ज्वरो र रुघाखोकीका विरामी परेको मैदान स्वास्थ्य चौकीले जनाएको छ । चन्न्द्रमणि सहित एक छोरा, दुई छोरी ज्वरोका विरामी छन् । मैदानका घरैपिच्छे ज्वरो र रुघाखोकीका विरामी छन् । परिवारभित्र शुरुमा एक जनालाई ज्वरो आउने र रुघाखोकी लाग्ने गरेको छ, त्यसपछि क्रमश सबै परिवार विरामी पर्ने गरेको मैदान स्वास्थ्य चौकी इन्चार्ज जगदीश घिमिरेले बताए ।
घरैपिच्छे विरामी छन् । उनीहरुलाई सिटामोल सहित औषधि दिएर पठाउँछौं, औषधि खाएपछि केही निको पनि भएको उनले बताए । छत्रदेव गाउँपालिका–६ ठुलापोखरामा घरैपिच्छे विरामी छन् । साता/पन्ध्र दिनपछि धेरै विरामी निको भएका छन् । ‘पिसिआर परीक्षण गर्दा ८० प्रतिशत गाउँलेलाई कोरोना देखिन्छ,’ ठूलापोखरा स्वास्थ्य चौकी इन्चार्ज विश्वदेव न्यौपानेले भने ।
गाउँमा विवाह, भोजभतेरपछि धेरै ज्वरो र रुघाखोकीका विरामी हुन थालेको न्यौपानेले बताए । दैनिक २० देखि २५ जना यस्ता विरामी आउने गरेको उनले बताए ।
‘बाक्लो बस्तीमा धेरै विरामी पर्छन्, छरिएर रहेको पातलो बस्ती र आउजाउ नगर्ने परिवारमा ज्वरो, रुघाखोकी छैन,’ भूमिकास्थान नगरपालिका–१ ढाकावाङ स्वास्थ्य चौकी इन्चार्ज मञ्जु खनालले भनिन । ढिकुरा स्वास्थ्य चौकीकी अनमी सिता पौडेलले ज्वरो र रुघाखोकीका विरामी धेरै आउने गरेको बताइन । जिल्लाका धेरैजसो बस्तीमा रुघाखोकी र ज्वरोको विरामी छन् । तर, परीक्षण स्थानीय तहले गरेको छैन ।