अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको आपूर्ति गर्न कठिनाई भएको बेला उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अक्सिजन प्लान्ट निर्माणका लागि पहल शुरु गरेका छन् ।
उर्जा मन्त्री रायमाझीले जिल्लामा छिटोभन्दा छिटो अत्याधुनिक अक्सिजन प्लान्ट निर्माणका लागि सबै तहमा पहल शुरु गरेका हुन् ।
निजी सचीव नारायण खत्रीले अर्घाखाँचीडट्कम जानकारी गराए अनुसार “सबै तहमा छलफल सकिएकाे र सरकारी तहबाट दिर्घकालकाे लागि ठुलाे अक्सिजन प्लान्ट स्थापना गर्ने तथा तत्काल मध्यम स्तरकाे जडान गर्न बिज्ञ मार्फत सुझाव आएकाे छ।”
यस्तै खत्रीले भने; “हामी सबै सुझाव मध्यनजर गरेर प्रक्रिया अगाडी बढाईएकाे छ । प्राविधिक तथा आर्थिक पक्षलाई मध्यनजर गरेर अघाडी बढने तयारी सहित प्रक्रिया अघाडि बढाईएकाे छ । माननिय ज्यूकाे काेभिड १९ व्यवस्थापनमा उच्च चासो र प्रयत्न भएकाे छ । स्वास्थ्य मन्त्रालय अर्थ मन्त्रालयसँग समन्वय भईरहेकाे छ।” प्रयास भएकाे छ सफल भए अर्घाखाँचीलाई प्रयाप्त अक्सिजन हुनेछ, छिटोभन्दा छिटो जडान गरि सन्चालन हुनेछ, उनले बताए ।
उता रायमाझीले गत वैशाख २९ गते बुधवार जिल्लालाई अक्सिजन सिलिण्डर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाइसकेका छन् । साथै पुन: जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउन पहल भईरहेको बताइएको छ ।
यस्तै जिल्ला अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु बुटवलमा रिफिल गर्दै ल्याइएको छ । अर्घाखाँची जिल्ला अस्पतालमा अहिले २५ जना संक्रमितमा २३ जनालाई अक्सिजन दिईएको छ ।