सितापुरको सिख्रमा पहिलो पटक बस पुगेपछि स्थानीय बासिन्दा हर्षित (भिडियो सहित)


झनक केसी
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको सिख्रमा पहिलो पटक बस पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।
मोटरबाटोको ट्रयाक खोलिएको लामो समयपछि पहिलो पटक बस पुगेपछि सितापुरको सिख्र गाउँका स्थानीय बासिन्दा हर्षित भएका हुन् ।
पहिलो पटक लु १ ख ८०५१ नम्बरको बस पुगेपछि स्थानीयले चालक नारायण अधिकारी लगायतलाई फुलमाला, खादा तथा अविर लगाई भव्य स्वागत गरे। पहिलो पटक घरआगनमै बस पुगेपछि स्थानीयबासी दंग भएका छन्। आफ्नो गाउँमै यसरी बस पुग्दा निकै खुसी लागेको स्थानीय बासिन्दाले बताए ।
कार्यक्रममा नगएका वार्ड अध्यक्ष गोबर्धन थापाले बस सञ्चालन गर्ने चुनावको बेला गरेको प्रतिवद्धता पूरा गरेको दाबी गरे। ‘चुनावका बेला गरेको प्रतिवद्धता पूरा भएको छ बाह्रै महिनासम्म गाडी सञ्चालन गर्ने गरी सडकको स्तरोन्नती गरिनेछ।’ बस सञ्चालनले आवत जावतमा सहज हुनुकासाथै गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पु-याउन सहज हुने हुँदा कृषकहरुलाई राहत हुने उनले दाबी गरे। ८ लाख बजेटमा सडक निर्माण सकेको र स्तरोन्नतीको लागि ३ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वार्ड महिला सदस्य सरस्वती क्षेत्री, युग ज्योती आधारभुत बिद्यालयका प्रअ दिपक क्षेत्री, बाटो समितिका अध्यक्ष छब बहादुर खडका, सचिब राधा क्षेत्री, समाजसेवी यादब आले लगायतले संयुक्त रुपमा पहिलो पटक पुगेको बसलाई स्वागत गरेका थिए ।
५५ बढी घरधुरी रहेको सिख्र गाउँमा विजुली पहिले नै पुगेको छ ।

अन्य समाचारहरु