अर्घाखाँचीमा बैंक, सहकारीहरुले गाउँ-गाउँमा गएर ऋणिसँग पैसा उठाउन छोडेनन्, प्रशासनले कारबाही गर्ने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जेष्ठ १० गतेसम्म जारी निषेधाज्ञाका बेला गाउँ – गाउँमा गएर पैसा उठाउने बैंक, सहकारीहरुलाई कारबाही गर्ने भएको छ। 
जिल्ला प्रशासन कार्यालयले बुधवार एक सुचना जारी गर्दै निषेधाज्ञाका बेला वित्तीय संस्था, सहकारीहरुले गाउँ – गाउँमा गएर भेला गरी पैसा उठाउने गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो । 
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जारी गरेको सुचनामा भनिएको छ; “कतिपय वित्तीय संस्था, सहकारीहरुले टोल – टोलमा गई भेला गराउने, नगद उठाउन भेला गर्ने गतिविधी गरेको गुनासो आएकोले उक्त क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।”
उता निषेधाज्ञा शुरु भएदेखि बैंक, सहकारीहरुले जिल्लाभर गाउँ – गाउँमा गएर ऋणिसँग किस्ता उठाउने कार्य गर्दै आएका छन् ।  भने लघुवित्त संस्थाहरूले किस्ताका लागि दबाब सिर्जना गरेका छन् । यस्तै उनिहरुले आफ्ना मासिक बैठक नियमित सञ्चालन गर्दै आएका छन् । 
जिल्लामा संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै बैशाख २० गतेदेखि  निषेधाज्ञा  जारी गरिएको छ । यस्तै जिल्ला पूर्ण रुपमा ठप्प छ ।