अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, आईसीयू बेड, कोरोनाका नाममा आर्थिक संकलन गर्नेलाई कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधवार एक सुचना जारी गर्दै निषेधाज्ञाका बेला अस्पतालका नाममा केही व्यक्ति, संस्थाहरुले आर्थिक संकलन तिव्र पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जारी गरेको सुचनामा भनिएको छ; “कोरोना रोकथाम तथा नियन्त्रणका नाममा आफुखुसी आर्थिक संकलन गरेको पाईएको र कसैले पनि यस्ता कार्य गर्न – नगराउन अनुरोध छ।” कसैले सहयोग गर्न चाहेमा राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार परिसर शाखामा रहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको बैंक खातामा जम्मा गर्न सकिनेछ ।
पछिल्लो समय अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, आईसीयू बेड, कोरोना उपचारको नाममा आर्थिक संकलन गर्ने समुह बढेको बेला प्रशासनले कारबाही गर्ने बताएको छ ।
उता जिल्ला अस्पताल अर्घाखाँचीले कसैलाई पनि चन्दा उठाउन आग्रह नगरेको बताएको छ । अस्पतालको नाममा आर्थिक संकलन तिव्र पारेको भन्दै व्यापक आलोचना भएको देखिन्छ ।
यस्तै अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख विनियोजन भएको छ । यस्तै जिल्ला अस्पतालको लागि अक्सिजन प्लान्ट नबनेसम्म अक्सिजन रिफिलको जिम्मा र ग्यारेन्टी आफुले गर्ने लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताएका छन् ।
केही दिन अगाडि अक्सिजन प्लान्ट निर्माण र अक्सिजन रिफिलको लागि भन्दै आर्थिक अभियान चलाएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीले पनि उक्त कार्यलाई स्थगित गरेको छ ।
साथै अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर, बेड लगायत पर्याप्त रहेको देखिएको छ । जिल्ला अस्पतालमा हाल २७ जना उपचाररत रहेका छन् ।