एजेन्सी
केही दिनयता भारतमा कोरोना संक्रमण घट्दै गएको छ । दैनिक ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भइरहेको भारतमा पछिल्लो समय संक्रमण घटेकाले केही राहत भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९६ हजार ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा गत अप्रिल १४ पछि पहिलो पटक एक दिनमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण कम भए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । अहिले पनि भारतमा दैनिक ३ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । त्यस्तै सोमबार भारतमा ३ लाख २६ हजार ८ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर) का अनुसार आइतबार २० लाख ५८ हजार १ सय १२ नमुना परीक्षण गरिएको थियो । त्यस्तै भारतमा अहिलेसम्म १९ करोड ८५ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको छ ।
भारतमा अहिलेसम्म २ करोड ६९ लाख ४८ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७ हजार २ सय ३१ पुगेको छ । एजेन्सी