अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताललाई अक्सिजन कॉन्सेंट्रेटर, आईसीयू बेड लगायतका स्वास्थ्य सामाग्री चाहियो भन्दै पुन: आर्थिक संकलन गर्ने समुह संक्रिय भएपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले गत ज्येष्ठ ६ गते विहीवार एक सुचना जारी गर्दै निषेधाज्ञाका बेला अस्पतालका नाममा केही व्यक्ति, संस्थाहरुले आर्थिक संकलन तिव्र पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएपनि निरन्तर आर्थिक संकलन गर्ने समुह संक्रिय भएपछि पुन: कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रशासनले अस्पतालका नाममा आर्थिक संकलन, चन्दा उठाउने काम तुरुन्त रोक्न समेत अनुरोध गरेको छ ।
उता जिल्ला अस्पताल अर्घाखाँचीले कसैलाई पनि आर्थिक संकलन गर्न अनुरोध नगरेको बताएको छ । भने कोही व्यक्ति, संघ-संस्थाले आफ्नो ईच्छा अनुसार सहयोग गरेमा ल्याउन सकिने र अस्पतालको नाम खराब गरेर अक्सिजन कॉन्सेंट्रेटर, अक्सिजन सिलिन्डर, आईसीयू बेड, कोरोनाका लागि भन्दै आर्थिक संकलन नगरिदिन समेत अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार “कोरोना रोकथाम तथा नियन्त्रणका नाममा आफुखुसी आर्थिक संकलन गरेको पाईएको र कसैले पनि यस्ता कार्य नगर्न – नगराउन अनुरोध छ।” कसैले सहयोग गर्न चाहेमा राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार परिसर शाखामा रहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको बैंक खाता १९६०००००११०१ मा जम्मा गर्न सकिनेछ ।
साथै जिल्ला अस्पताल अर्घाखाँचीले कसैलाई पनि चन्दा उठाउन आग्रह नगरेको बताउदै आएको छ । अस्पतालको नाममा आर्थिक संकलन तिव्र पारेको भन्दै व्यापक आलोचना भएको देखिन्छ ।
यस्तै अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख विनियोजन भएको छ । जुन टेन्डर प्रक्रियामा रहेको बताइएको छ । यस्तै जिल्ला अस्पतालको लागि अक्सिजन प्लान्ट नबनेसम्म अक्सिजन रिफिलको जिम्मा र ग्यारेन्टी आफुले गर्ने लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताएका छन् ।
केही दिन अगाडि अक्सिजन प्लान्ट निर्माण र अक्सिजन रिफिलको लागि भन्दै आर्थिक अभियान चलाएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीले पनि उक्त कार्यलाई स्थगित गरेको छ ।
साथै अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर, बेड लगायत सबै स्वास्थ्य सामाग्री पर्याप्त रहेको बताइएको छ । जिल्ला अस्पतालमा हाल २३ जना उपचाररत रहेका छन् ।