सुपादेउरालीको झोलुंगे पुल निर्माण अन्तिम चरणमा | अब पर्यटक पत्थर सहितको पहाडमा गएर रमाउने
जेष्ठ ११ गते, २०७८ मा प्रकाशित
जननी खबर | झनक केसी
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको धार्मिक ऐतिहासिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर नजिकै झोलुंगे लामो पुल निर्माणको काम करिब अन्तिम चरणमा छ । मन्दिर देखि केही पर सन्धिखर्क गोरुसिंगे सड्क खण्डबाट पारीपट्टीको पहाडमा जोडिएको छ । मन्दिरमा दैनिक सयौं भक्तजन दर्शन गर्न आउने गर्छन् । यतिबेला कोरोनाका कारण निषेधाज्ञा भएकाले आउजाउ बन्दछ ।
धार्मिक पर्यटकसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो । पर्यटकलाई भरपुर मनोरञ्जन र रमाउनका लागि पर्यटकीय संरचना निर्माण अन्तरगत भोलुंगे पुल निर्माण भएको हो । पुलले दुई पहाडको बीच भागलाई जोडेको छ । पुलबाट पर्यटक पारी पट्टीको पथ्थर सहितको पहाडमा गएर रमाउनेछन् ।
यहाँ बञ्जीजम्प र जिप फ्लायर लगायतका साहसिक खेल सञ्चालन गरिनेछ । । मन्दिरमा दर्शका लागि तीर्थालु, सुपादेउराली मन्दिर देखि करिब दुई किमी पर पर्यटकीय स्थल नरपानीमा घुम्न आउने पर्यटकलाई पर्यटकीय संरचना बनाएर भुलाउने, साहसिक खेल खेलाउन र मनोरञ्जन गराउने लक्ष्य रहेको छ ।
पुलको लम्बाई करिब २ सय ७२ मिटर र उचाई १ सय ६२ रहेको सुपादेउराली मन्दिर व्यवस्थापन समिति यादव घिमिरेले बताए । झोलुंगे पुल संघीय सरकारको बजेटबाट निर्माण भएको हो । एक करोड भन्दा बढीको बजेट लगानी छ । पर्यटकीय संरचना निर्माण अन्तरगत पुलको लागि पूर्वमन्त्री टोपबहादुर रायमाझीको पहलमा बजेट परेको हो ।