अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पुर्याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् ।
अर्घाखाँचीमा दैनिक काम गरेर खाने वर्गलाई निषेधाज्ञाले अझ बढी सास्ती दिएको छ ।
कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञाबाट दैनिक काम गरेर खाने वर्गलाई सास्ती भएको छ ।
गत वर्ष लामो बन्दाबन्दीको मार्का झेलेका खुद्रा, साना तथा अन्य व्यवसाय एक महिनाको निषेधाज्ञाले धरासायी हुनुका साथै कसरी दैनिक गुजारा गर्ने भन्ने चिन्तामा रहेको खुद्रा व्यवसायी सन्धिखर्कका कृष्ण खनाल बताउँछन् ।
सदरमुकाम सन्धिखर्क र चुत्राबेसी लगायत जिल्लाभरका मुख्य बजार र यातायात पूर्ण रुपमा बन्द छन् ।
खरिद गरेको फलफूल, तरकारीहरु सिमित समयमा बिक्री नहुृँदा समस्या भइरहेको व्यवसायीहरुले बताएका छन् ।
यस्तै समस्या यातायात मजदुरले पनि व्यहोर्नु परेको छ । एक महिनादेखि यातायातका साधनहरु बसपार्कमा थन्किएपछि यातायात मजदुरको आर्थिक अवस्था पनि दयनीय भएको यातायात मजदुरहरुको गुनासो छ ।
स्थानीय तहलाई व्यवसाय कर बुझाउने कोरोना प्रभावित खुद्रा तथा साना व्यवसायीहरुका लागि स्थानीय सरकारले व्यवसाय करमा छुट तथा उत्पादनमुखि कार्यक्रम ल्याएर प्रभावितको माग अनुसार बजेटमा सम्बोधन गर्न व्यवसायीहरुको माग छ ।
यस्तै जिल्लामा बैंकको ब्याज तिर्न, घरखर्च टार्न धौधौ भइरहेको अवस्थामा स्थानीय, प्रदेश तथा संघीय सरकारबाट विश्वस्त हुने कुनै पनि कार्यक्रम नआउँदा व्यवसायीहरु निराश भएका छन् ।
जिल्लामा गत बैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । भने चौथो पटक पुन: जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।