सिद्धाराको हर्रे दहका चौरको सुन्दर पोखरी व्यवस्थित हुँदै


हर्रे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धाराको हर्रे गाउँको बिचमा चौर छ । चौरको पूर्वतिर बाहेक अग्लो छ । पूर्वतिर पनि पानी निकासको बाटो मात्र छ धेरै ओरालो पनि छैन । त्यही चौरमा ९० मिटर लम्बाइ र चौडाइचाहिँ ठाउँअनुसार २० मिटरदेखि २५ मिटरसम्मको पोखरी बनाइँदै छ । त्यस चौरमा पहिले पनि गर्मीयाममा भैँसी आहाल बस्ने ससाना पोखरी थिए । त्यही ठाउँमा अहिले व्यवस्थित पोखरी बन्न लागेकामा स्थानीय खुसी छन् ।
चौरको पश्चिमपट्टिको अग्लो भागलाई तालपोखरी भनिन्छ । त्यसका आधारमा पनि पहिले यो चौर भएका ठाउँमा ठुलै पोखरी भएको अनुमान गर्न सकिन्छ । संरक्षण नपाएर पानी बग्ने क्रममा कमलो माटोका कारण डिल कटान गरी त्यहाँको पानी बगेर पोखरी सुकेको हुन सक्छ । अलिअलि बाँकी रहेको पनि कालान्तरमा बर्खाको भलपानीसँगै वरिपरिका बारीको माटो बगेर पोखरी पुरिएको हुन सक्छ । दह पुरिएर चौर बनेकाले त्यसको नाम दहका चौर रहन गयो ।
यो पोखरी राष्ट्रपति चुरे संरक्षण परियोजनाको १२ लाख बजेटमा २०७६/७७ मा सुरु गरिएको हो । गत वर्ष पोखरी निर्माणका लागि डिपिआर गरेर पोखरीको पूर्वी भागमा ४० जाली भरिएको उपभोक्ता समितिका अध्यक्ष गिरिराज पन्थी बताउँछन् । पोखरी तयार गर्ने क्रममा ठाउँ हेरी तीन मिटरदेखि एक मिटरसम्म माटो निकालिएको पन्थीले बताए । ‘गत वर्ष छिटो वर्षा सुरु भयो, कोरोनाका कारण लकडाउनको अवस्था थियो,’ पन्थीले थपे, ‘आवश्यक निर्माण सामग्री जोहो गर्न नसक्दा डिपिसीसहितको पर्खाल लगाउन सम्भव भएन ।’
ढुंगा भरिएको जालीले मात्र पानी रोक्ने कुरै भएन । यस पटक नगरपालिकाको १ लाख रुपैयाँ बजेटमा डिपिसीसहित नौ घनमिटर पर्खाल लगाएपछि पोखरीमा मकै छर्ने पानी अडिएको छ । ‘पोखरीमा पानी अडिएपछि ठाउँको शोभा बढेको छ,’ हर्रेका बुद्धिजीवी धनप्राद पोख्रेलले प्रसन्नता व्यक्त गरे । ‘अहिले बनाएको पर्खालले तत्काल पानी रोकिए पनि पानी बढी हुँदा दायाँबायाँबाट कटान गर्ने सम्भावना छ,’ उनले भने, ‘पोखरीको दुवै छेउमा बलियो पर्खाल थप्नु सकियो भने पोखरी टिकाउ हुन्छ ।’
‘गाउँको बिचमा रहेकाले पोखरीले हर्रेको सुन्दरता थपेको छ,’ वडाअध्यक्ष हिम्मत पोख्रेल भन्छन्, ‘यो पोखरी सम्पन्न भएपछि गर्मी समयमा यहाँको प्रकृतिमा सुवास पनि थपिनेछ ।’
जननीखबरबाट साभार

अन्य समाचारहरु