अर्घाखाँचीमा कोरोना खोप लगाउन आकर्षण, यसअघि लगाउन नमान्नेहरू विभिन्न उपाय खोज्दै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन आकर्षण बढेको छ । यसअघि खोप लगाउन नमान्नेहरू अहिले जसरी पनि लगाउन विभिन्न उपाय लगाइरहेका छन् ।  
जिल्लामा यसअघि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोप लगाएको थियो । तर स्वास्थ्य शाखा कार्यालय अर्घाखाँचीका एक कर्मचारीले भने; कोभिसिल्ड खोप लगाएपछि ज्वरो आउने, टाउको र जीउ दुख्ने भन्दै त्यसबेला धेरैले लगाउन मानेका थिएनन् । ‘कर्मचारी नै धेरै छुटेको पाइयो,’ ‘हिजो आउनुस् भन्दा आउनुभएन, अहिले जसरी भए पनि मिलाइदिनुपर्‍यो भन्ने धेरै छन् ।’
जिल्ला स्वास्थ्य कार्यालय लगायतका जिल्लाभरका खोप केन्द्रहरुमा लक्षित उमेर समूहभन्दा बाहिरका व्यक्तिहरूलाई पनि खोप दिइएको छ ।  जिल्लाको ग्रामीण भेगमा धेरैलाई संक्रमण देखिएको, परीक्षण न्यून मात्रामा रहेको, गम्भीर संक्रमितमध्ये धेरैको मृत्यु भएकोले खोप लगाउने बढेका हुन् ।
उता निश्चित उमेर समुहका लागी तोकेका खोप युवाहरुलाई समेत लगाईएपछी जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा जेष्ठ २७ गते बिहिवार केही तनावग्रस्त बनेको थियो । 
ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकारलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका थिए । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको थियो । लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।
अर्घाखाँचीमा ३ हजार ३ सय ६० डोज चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप आएको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ७ सय ४५ डोज, शितगंगा नगरपालिमामा ७ सय ३० डोज, भुमिकास्थान नगरपालिकामा ५ सय ७८ डोज, मालारानी गाउँपालिकामा ४ सय ७७ डोज, पाणिनी गाउँपालिकामा ४ सय ६५ डोज र छत्रदेव गाउँपाकिामा ३ सय ७५ डोज खोप आएको थियो ।
साथै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको थियो ।
उता अर्घाखाँचीमा भारतबाट आएको कोभिसिल्ड खोप अभियानमा १२ हजार ७ सय ५८ जनाले लगाएका थिए । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।