बिक्रम आचार्य
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं ६ जुकेनाले दलित जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जुकेना भित्र रहेका ६६ वर्ष माथिका ६५ जना दलित जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
शितगंगा नगरपालिका वार्ड नं.६ का वडा अध्यक्ष ऋषि रेश्मीले प्रत्येक दलित जेष्ठ नागरिकलाई एक थान रेडियो दिएर सम्मान गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष रेश्मीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । उनले जेष्ठ नागरिकहरुको सिप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्नेमा जोड दिए । यस्तैबढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने बताए ।
अध्यक्ष रेश्मीले आ.व. ०७७।०५८ को जेष्ठ दलित कार्यक्रम अन्तरगत यो सानो सम्मान गरेको भन्दै छोरा बुहारीहरुबाट वृद्ध बाबा आमा अपहेलित हुँदै आएकाले वृद्धवृद्धाहरुको सम्मानका लागि यस्ता कार्यक्रमहरुलाई प्रथामिकता दिइएको बताए । सम्मान ग्रहण गर्दै ६८ वर्षिय पदम वहादुर सुनारले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ऋषि रेशमीको स्वागत मन्तव्य सागर परियारको सन्चालन वार्ड सचिब हिमाल भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।