अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्ला वर्ष छोरी जन्मिने क्रम घटेको देखिएको छ।
७७ जिल्लाहरुमध्ये १२ जिल्लाहरुमा छोरीको अनुपातमा छोराको जनसंख्या अधिक जसमा अर्घाखाँची पहिलो ।
जिल्लामा पछिल्ला वर्ष महिला भन्दा पुरुषको सङ्ख्या बढी देखिएको हो । यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्ने देखिन्छ ।
यस्तै पछिल्लो विवरण अनुसार नेपालका ७७ जिल्लाहरुमध्ये १२ जिल्लाहरुमा छोरीको अनुपातमा छोराको जनसंख्या अधिक रहेकोमा अर्घाखाँची पहिलो देखिएको छ ।
राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको कुल जनसंख्या १९७६३२ रहेकोमा पुरुष जनसंख्या ८६२६६ र महिला जनसंख्या १११३६६ रहेको थियो । जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् ।
अर्घाखाँचीका स्थानीय सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याउन सकेका छैनन् ।
साथै छोरी भएको थाहा पाएपछि गर्भपतन गर्नेको संख्या बढेको स्थानिय जानकारहरू बताउन्छन् । सन्धिखर्ककी पूजा (नाम परिवर्तन) ले भनिन्; आफ्नो ६ वर्षिया एक छोरी छन्। दोस्रो गर्भ रहँदा फेरि छोरी नै भएको थाहा पाएपछि उनलाई परिवार विभिन्न दबाब दिएर गर्भमा भएकी छोरी फ्याँकेको बताईन् । जिल्लामा कयौ महिला पनि छोरा जन्माउनकै निम्ति गर्भपतन गराएको बताउँछन् ।
कानुन अनुसार विशेष अवस्थामा बाहेक १२ हप्तापछि भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन। तर पनि पितृसत्तात्मकसोच, धार्मिक, सांस्कृतिक र सामाजिक लगायतका कारण लिङ्ग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको पाइन्छ। यसले महिला पुरुषको जनसाङ्ख्यिक अन्तर बढाउने चिन्ता उच्च रहेको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन्।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा समग्र जनसङ्ख्या हेर्दा महिलाको संख्या बढी थियो। तर १४ वर्षमुनिको सङ्ख्यामा छोरीभन्दा छोराको सङ्ख्या बढी थियो।
अर्घाखाँचीमा अहिलेको जनसङ्ख्या छोरामुखी बन्दै गएको देखिन्छ। यो जैविक प्रहार हो। यही क्रम जारी रह्यो भने केही दशकपछि वैवाहिक सम्बन्धको सन्तुलन बिग्रिने अवस्था आउन सक्ने देखिन्छ । अर्घाखाँचीडट्कम
गैरकानुनी गर्भपतनविरुद्ध कडा कानुन र त्यसको कार्यान्वयन सँगसँगै छोराछोरीबीचको विभेद हटाउन पर्याप्त जनचेतना फैलाउने कामले तीव्रता नलिएसम्म अझै धेरै छोरीहरू जन्मन नपाउने जिल्लाका जानकारहरू बताउन्छन् ।